कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि सारेका मागहरुबारे कुवेतलाई सोमबारसम्ममा आफ्नो देशले जवाफ पठाउने बताएका छन्।

दशकौंयताको सबैभन्दा नराम्रो भनिएको खाडी संकटबारे कुवेतका अमिरले मध्यस्थता गर्दै आएका छन्।

समाचारमा जनाइए अनुसार कतारका अमिरको पत्र त्यहाँका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल-थानीले कुवेती अमिरलाई दिनेछन्।

यसअघि कतारी अधिकारीहरुले ती मागहरु अस्वीकार गरेका थिए।

चेतावनी

यद्यपि उनीहरुले उचित शर्तहरु भए संवादमा सहभागी हुन कतार तयार रहेको बताएका थिए।

खाडी मुलुकहरुले अघि सारेका मागहरुमा अल-जजीरा प्रसारण सञ्जाल तथा टर्कीको सैन्य अखडा बन्द गर्नुपर्ने र इरानसँग सम्बन्ध विच्छेद गर्नुपर्ने लगायत छन्।

तोकिएको समयसीमाभित्र ती मागहरु पूरा नगरिए साउदी अरेबिया, बहरेन, संयुक्त अरब एमिरेट्स र इजिप्टले कतारमाथि नाकाबन्दी लगाउने चेतावनी दिएका छन्।

उनीहरुले कतारमाथि अतिवादी र आतंकवादी समूहहरुलाई सघाउँदै आएको आरोप लगाउँदै आएका छन्।

उक्त आरोप कतारले अस्वीकार गर्दै आएका छन्।

भावी कदम

ती मुलुकहरुले भावी कदमबारे बुधबार छलफल गर्ने बताएका छन्।

गत जुन महिनामा साउदी अरेबिया, बहरेन, संयुक्त अरब एमिरेट्स र इजिप्ट लगायतका मुलुकले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए।

कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्ने बेला रियादले “राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन” उक्त कदम चालिएको बताएको थियो।

सन् २०१४ मा पनि साउदी अरेबिया, बहरेन र संयुक्त अरब एमिरेट्सले आफूहरुको आन्तरिक मामिलामा कतारले हस्तक्षेप गरेको भन्दै दोहास्थित आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएका थिए।

Source : BBC/Nepali