‘शरीर पुरै आगोले पोलेको छ । गर्मिले घाउ पाकेको छ । घाउ साह्रै दुख्छ । श्रीमानसँग नागरिकता बनाइदिनु भन्दा, यस्तो सजाय पाइयो ।’ नागरिकता माग्दा श्रीमानले जिउँदै जलाएर घाइते भएकी शोभा राईले गहभरि आँसु बनाउँदै सुनाइन् । उनी यस्तै अवस्थामा उपचारको क्रममा बालाजु नयाँ बजारस्थित पिपल्स हस्पिटलमा छट्पटाइ रहेकी छन् ।

विवाह गरेको १७ बर्ष वित्दा पनि नागरिकता नपाएकी उनले यो पटक नागरिकता माग्दा उल्टै श्रीमानले मट्टितेल खनाएर जलाईदिए ।

उनले भनिन्– ‘छोरो नभएको भए मलाई मार्दो रहेछ ।’ गएको जेठ ३० गतेको घटना हो । बेलुका खाना खाएर त्यस्तै ११ बजेको थियो । शोभाले श्रीमानलाई नागरिकता बनाईदिन आग्रह गरिन् । तर उल्टै किन नागरिकता चाहियो भनेर थर्काए  । भनाभन हुँदै विवाद बढ्दै गएपछि श्रीमानले उनलाई कुटपिट गरे । प्रतिकारमा उनले पनि केही शब्द निकाले । रिसले चुरु परेका श्रीमानले नाकाबन्दीको समयमा ल्याएको मट्टितेल उनलाई(श्रीमति) छर्केर आगो लगाईदिए । ‘आगो ह्वार ह्वारती सल्कियो । म चिच्याए । ऊ भाग्यो । छोराले पानी खल्याई दियो । आगो निभ्यो । म बहोस जस्तै भएको थिए । अनि छिमेकीले थाहा पाएर पुलिसलाई खबर गरेछन् । मलाई हस्पिटलमा ल्याए ।’ शोभाले सुनाइन् ।

नुवाकोट घर भई हाल काठमाडौं पयङ्टार बस्दै आएकी ३० वर्षिय शोभाले १७ बर्षअघि राजु कसाईसँग प्रेम विवाह गरेका थिए । ३ सन्तान समेत भैसकेको शोभाको विवाह दर्ता समेत भएको छैन । विवाह दर्ता नभएपछि छोराछोरीको जन्मदर्ता समेत हुन पाएको छैन । उनले भनिन्–‘ठूली छोरी १३ वर्षकी भइसकेकी, बीचको छोरा १२ वर्ष लाग्यो, कान्छि छोरी आठ वर्षकी छे, कसैको जन्मदर्ता छैन ।’

आठ वर्षपछिको भेट

शोभा र उनका श्रीमान राजुको त्यो दिनको भेट आठ वर्षपछिको थियो । त्यति लामो समयको भेट सायद कति कसिलो होला भन्ने लागेको थियो शोभालाई । तर बर्षाे प्रतिक्षापछिको त्यो भेट अभिसाप बन्यो शोभाका लागि । राजु ड्राइभर पेशा गर्छन् । काठमाडौंमै रहेपनि उनी कोठामा जादैँनथे । बेला—बेलामा फोन भने भै रहन्थ्यो । शोभाले भनिन्,—‘ कान्छि छोरी जति वर्षकी भई,  ऊ नआएको पनि त्यति नै भयो । कहिले काहि फोन गथ्र्यो । तर हामीलाई केही दिदैँनथ्यो ।’
उनले टोपी बनाउने काम गरेर तीन सन्तानलाई पालनपोषण गर्दै आएकी थिइन् । उनको अवस्था देखेर दुई छोरीहरुलाई गोदावरीको एउटा संस्थाले पढाइदिएको उनले बताइन् । सानै छदाँ बाबु आमा गुमाएकी शोभालाई आफन्तले हुँर्काएका थिए । उनले पढ्न पाएकी छैनन् । १४ बर्षकै उमेरमा विवाह भएपनि त्यो सफल भएन । त्यसैले छोराछोरीलाई राम्रो पढाउने उनको धोको छ । उसको परिवार पहिले सम्पर्कमा रहेपनि अहिले भने छैन ।

उपचारमा समस्या

करिब २ सातादेखि अस्पतालमा छटपटाइरहेकी शोभाको आर्थिक अवस्था नाजुक हुँदा उपचारमा समस्या भएको छ । पैसा नभएकै कारण भर्ना भएको केही दिनमै डिस्चार्ज भएकी उनी घाउ बल्झिएपछि फेरि दोस्रो पटक अस्पताल भर्ना भएकी हुन् । पहिलो पटक छिमेकी र शुभचिन्तकहरुले उपचारका लागि केही रकम चन्दा दिएका थिए ।  त्यही पैसाले उपचार गरि घर फर्केको उनले बताइन् । तर घाउ उल्टै बल्झियो । यो पटक कति विल आउने हो र कसरी तिर्ने यही चिन्ताले उनको शरीरको घाउ मात्र हैन मन पनि उत्तिकै पोलेको छ ।