घटना १ : असार १२ गते झापाको कन्काई अस्पतालमा उपचारक्रममा पाँचमहिने सुवाङ राईको मृत्यु भयो । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडितले क्षतिपूर्ति मागसहित अस्पताल तोडफोड गरे । बालकको उपचारमा गल्ती भएको थियो/थिएन, त्यसबारे कुनै अनुसन्धान नगरी अस्पतालले आफ्नो साख जोगाउन एक लाख रुपैयाँ मृतक पक्षलाई थमायो ।

घटना २ : जेठ २० गते ललितपुरको मिडाट अस्पतालमा पाठेघरको शल्यक्रिया गर्नेक्रममा आन्द्रा काटिएर पूर्णकुमारी श्रेष्ठको मृत्यु भएपछि अपरिचित समूह अस्पताल तोडफोडमा उत्रियो । वास्तविक पीडित भने शोकमा डुबिरहेका थिए । घटनाको अनुसन्धानबारे कुरै भएन । बरु २५ लाख रुपैयाँ क्षतिपूर्ति दिन अस्पताल सहमत भएपछि केहीबेरमै त्यो समूह शान्त भयो ।

घटना ३ : गत वर्ष भक्तपुरको नागरिक कम्युनिटी टिचिङ अस्पतालमा उपचारक्रममा मीना विश्वकर्माको मृत्यु भयो । आन्दोलनकारीले हुलदंगा गरेपछि अस्पताल मृतक पक्षलाई दुई लाख दिन सहमत भयो । त्यो मृत्युबारे छानबिन भएको भए सायद त्यस्तै घटना यसपालि दोहोरिने थिएन । उपचारक्रममा दोलखाकी ३८ वर्षीया उषा बस्नेतको मृत्युपछि लाखौंको क्षति हुने गरी अस्पताल तोडफोड भयो । मृतक पक्षले आफ्नो मान्छे तोडफोडमा संलग्न नरहेको र उल्टै नचिनेका मानिसले क्षतिपूर्ति माग्न आफूहरूलाई उक्साएको दाबी गरे । आक्रोशित आन्दोलनकारीसँग डराएर चिकित्सक र नर्स मात्र होइन, अन्य बिरामी पनि लुक्नुपर्‍यो ।

घटना ४ : केही वर्षपहिले तनहुँको लक्ष्मी अस्पतालमा शल्यक्रिया गरेको केही समयमै स्थानीय निर्मला श्रेष्ठको मृत्यु भयो । त्यसपछि चर्केको विवादलाई पनि पैसासँग मिलाइयो । क्षतिपूर्तिका लागि आन्दोलनकारीले अस्पताल र चिकित्सकमाथि आक्रमण मात्रै गरेनन्, राजमार्ग नै अवरुद्ध पारिदिए । त्यहाँ पनि पीडितले नचिनेका अनुहार धेरै थिए । घटना छानबिन भएन बरु अस्पतालले ५० लाख रुपैयाँ क्षतिपूर्ति दिन उचित ठान्यो ।

यस्ता घटनाबाट हिजोआज कुनै पनि अस्पताल अछुतो छैनन् । काठमाडौंमा नाम चलेका ओम, नर्भिक, बयोधा, न्यूरो, कान्ति, टिचिङ, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजमा यस्ता घटना दोहोरिइरहेका छन् । नेपाल मेडिलक काउन्सिलमा ओम, नेपाल मेडिकल कलेज र टिचिङविरुद्ध ५० देखि एक करोडसम्म क्षतिपूर्ति माग गर्दै उजुरी परेका छन् । यस्तै उपभोक्ता हित संरक्षण मञ्चमा पनि सयौं बिरामीले क्षतिपूर्ति माग गर्दै उजुरी हालेका छन् ।