अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोपबारे छानबिन गर्न आफूले गठन गरेको आयोगलाई गोप्य व्यक्तिगत विवरणहरु उपलब्ध गराउन अस्वीकार गर्ने राज्यहरुको आलोचना गरेका छन्।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पले ‘तपाईँहरुले के लुकाउन चाहिरहुनभएको छ?’ भनेर प्रश्न गरेका थिए।

उक्त आयोगले अमेरिकाका ५० वटै राज्यबाट जन्ममिति, व्यक्तिहरुका सामाजिक सुरक्षा नम्बरका अंशहरु र फौजदारी अभियोग ठहर भएका घटना तथा मतदाताको इतिहाससहितका विवरण माग गरेको थियो।

तर हालसम्म २० भन्दा बढी राज्यले ती सूचना दिन आवश्यक नरहेको र गोपनीयताको हक विपरीत रहेको भन्दै आयोगको आग्रह अस्वीकार गरिसकेका छन्।

छानबिन

राष्ट्रपति ट्रम्पले उक्त चुनावी स्वच्छता छानबिन आयोग गत मे महिनामा गठन गरेका थिए।

उनले अघिल्लो वर्षको राष्ट्रपति चुनावमा अमेरिकाभर धाँधली भएको बताउने गरेका छन्।

उक्त आयोगले अमेरिकाका ५० वटै राज्यलाई प्रत्येक मतदाताको नाम, ठेगाना, जन्ममिति र सामाजिक सुरक्षा नम्बरको अन्तिम चारवटा अंक उपलब्ध गराउन माग गरेको थियो।

तर २० भन्दा बढी राज्यले त्यस्ता विवरण दिन अस्वीकार गरेका छन्।

त्यसपछि आक्रोश व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले के लुकाउन खोजिरहेका छौँ भनेर राज्यहरुलाई प्रश्न गरेका थिए।

जवाफ

धेरै राज्यहरु गोपनीयताको सवाल उठाउँदै ती सूचना ह्याक हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

अरु कतिपय राज्यले अघिल्लो चुनावमा कम लोकप्रिय मत पाउनुको कारण मतदानमा धाँधली भएको भन्ने राष्ट्रपति ट्रम्पको दावीलाई वैधानिकता दिने प्रयासलाई आफूले साथ नदिने प्रष्ट पारेका छन्।

मिसिसिप्पी राज्यका अधिकारीहरुले चाहिँ खरो जवाफ दिएका छन् र भनेका छन् उक्त आयोगले ‘गल्फ अफ मेक्सिको’मा गएर हाम फाल्न सक्ने जवाफ दिएका छन्।