इजिप्टका राष्ट्रपति अब्दुल फतह अल-सिसीले ‘रेड सी’मा रहेका मानव बसोबास नभएका दुईवटा टापुको सार्वभौमसत्ता साउदी अरेबियालाई सुम्पने एउटा सन्धि अनुमोदन गरेका छन्।

एकजना सरकारी वकिल रफिक शरिफले उक्त आदेश अब कानून बनेको र ती टापु साउदी अरेबियाको भूमिमा परिणत भएको बताए।

तर एउटा संवैधानिक अदालतले सो विषयमाथि संसद् वा न्यायापालिका कुन निकायको निर्णय अन्तिम हुनेछ भनेर निर्क्यौल गर्न बाँकी छ।

एक वर्षयताको कानूनी लडाइँका क्रममा उक्त सन्धिको खारेजी र अनुमोदन दुवै पक्षमा अदालतले आदेश सुनाएको छ।