पूर्णस्वचालित ब्याट्री केज प्रणालीद्वारा स्याङ्जामा सञ्चालित मुलुककै पहिलो खिलुङ्कालिका एग्रो फार्मबाट दैनिक सरदर एक लाख ४३ हजार गोटा अन्डा उत्पादन भएको छ । अत्याधुनिक प्रविधि ब्याट्री केज प्रणालीद्वारा स्याङ्जाको भीरकोट नगरपालिकामा सञ्चालित फार्ममा विगत चार महिनादेखि फार्मको लक्ष्यअनुरूपको अन्डा उत्पादन भएको हो ।

भीरकोट नगरपालिका खिलुङदेउरालीको ठाडाखेतमा सञ्चालित एग्रोफार्मले दुई वर्षमै दिनहुँ एक लाख ४० देखि ४६ हजारसम्म अन्डा उत्पादन हुन थालेकोे कम्पनी कार्यकारी अधिकृत शोभाकान्त ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्डाबाट मात्रै फार्ममा दैनिक १५ लाख आम्दानी भएको छ । जिल्लाकै सबैभन्दा नौलो प्रविधि, ठूलो र पहिलो उद्योगका रूपमा स्थापित फार्मबाट लक्ष्यअनुरूपको अन्डा उत्पादन हुन थालेपछि लगानीकर्तामा थप हौसला बढेको छ । यहाँका अन्डा पश्चिमाञ्चल क्षेत्रका वागलुङ, तनहुँ, गुल्मी, कास्की, पर्वत र स्याङ्जामा बिक्री हँदै आएको छ ।

अन्डाको माग बढ्दो भएको फार्मले जनाएको छ । गुणस्तरीय र ताजा अन्डा बजारमा पुर्‍याइएको हुँदा यहाँ उत्पादित अन्डाको माग बढी भएको हो । हाल बजारमा कुखुराको प्रतिअन्डा खुद्रा मूल्य १५ रुपैयाँ छ । खिलुङकालिका एग्रो फार्म प्राइभेट लिमिटेड कम्पनीका नाउमा स्थापना गरिएको मुलुककै अत्याधुनिक प्रविधिजडित ‘लेयर्स कुखुरा फार्म’ दुई वर्षअघि असोजदेखि सञ्चालनमा ल्याइएको हो । जर्मनीको अत्याधुनिक प्रविधि ‘ब्याट्री केज’ प्रणालीबाट सञ्चालित फार्म दुई लाख लेयर्स कुखुरा क्षमताको छ ।

अत्याधुनिक प्रविधि ब्याट्री केज प्रणालीद्वारा स्याङ्जाको भीरकोट नगरपालिकामा सञ्चालित फार्ममा विगत चार महिनादेखि लक्ष्यअनुरूप अन्डा उत्पादन भइरहेको छ ।

फार्ममा एक लाख ५० हजार लेयर्स र ५० हजार ग्रोइङ कुखुरा छन् । दैनिक एक लाख ५० हजार अन्डा उत्पादनको लक्ष्य लिएको कालिका फार्मले लक्ष्यअनुरूप अन्डा उत्पादन भएकामा पूर्णसफलता ठानेको छ । करिब ४० रोपनी क्षेत्रफलमा रहेको फार्ममा दुई लाख कुखुराका लागि चारवटा सुविधा सम्पन्न जर्मनी प्रविधियुक्त भवन निर्माण गरिएको छ । एउटा भवनमा ५० हजार चल्ला हुर्काउन र अन्य तीन भवन अन्डा उत्पादनका लागि निर्माण गरिएको छ । बन्द घरभित्र रहेका ती चल्लाले चार महिनामा अन्डा दिन्छन् । ‘वातावरणमैत्री बन्द घरभित्र रहेका ती कुखुराका लागि आवश्यकता अनुरूपका दाना, पानीलगायत अन्य आवश्यक खाद्यवस्तु मेसिनद्वारा उपलब्ध गराइनेछ भने मेसिनद्वारा नै अन्डा पनि एकीकृत रूपमा जम्मा हुन्छ । १५ महिनासम्म नियमित अन्डा दिने र त्यसपछि मासुका लागि बिक्री गर्ने फार्मको योजना छ । पश्चिमाञ्चल विकास क्षेत्रका सबै बजारसम्म आफ्ना उत्पादन पु‍र्‍याउने र अन्डामा निर्भर बनाउने कम्पनीको लक्ष्य हो ।

स्थानीयवासी साबिक खिलुङदेउराली गाविसका गंगाराम अर्याल, हरिप्रसाद शर्मा, चूडामणि अर्याल र श्यामप्रसाद अर्याललगायत सातजनाले सञ्चालन गरेको एग्रोफार्ममा ३२ करोड लगानी पुगेको छ । फार्ममा झन्डै सय जनाले रोजगार पाएका छन् । फार्ममा चिकित्सकदेखि वातावरणीय विज्ञले दैनिक रेखदेख र जाँच गर्ने गर्दछन् । वरपर हरियाली बनजंगल । वस्तीदेखि धेरै पर वातावरणीय हिसाबले पनि यो क्षेत्र कुखुराका लागि अत्यन्त उपयुक्त स्थान मानिन्छ । फार्ममा हाल दैनिक चारदेखि पाँच टनसम्म सुली उत्पादन हुने गरेको छ । कुखुरापालनका लागि योे क्षेत्र उपयुक्त रहेको बताउँदै ९८ प्रतिशत उत्पादन लिन सकेको फार्म सञ्चालकको भनाइ छ ।