किलागलका ६१ वर्षीय श्रवण महर्जन नेपाली फुटबलका सदावहार फ्यान हुन् । बाल्यकालमा टुँडिखेलमा फुटबल खेलेर हुर्किएका महर्जन विस्तारै व्यापार व्यवसायमा लागे ।’टुँडिखेलमा धुलो होस् वा हिलो बच्चामा खुब फुटबल खेलिन्थ्यो । ठूला प्रतियोगिता भने दशरथ रंगशालमा हुन्थे । हुर्किंदै गएपछि परिवारले खेलभन्दा पढाइ र व्यवसायमा लाग्न प्रेरित गरे । मैले खेल्न छाडे पनि दर्शकका रूपमा फुटबल छाडिनँ । दशरथ रंगशालामा हुने ठूला प्रतियोगिता हेर्न पाइनँ भने खल्लो लाग्छ । म सधँै पैसा तिरेर फुटबल हेर्ने दर्शक हुँ’, महर्जन भन्छन् ।

यमन र नेपालबीच मंगलबार भएको एसिया कप छनोट हेर्न एक हजार रुपैयाँ शुल्क तिरेर एपीएफ मैदान हल्चोक पुगेका महर्जनलाई नेपालको खेल राम्रो लाग्यो रे ! त्यहाँ दर्शकको कमीले भने उनलाई निराश बनाएको रहेछ । नेपालमा आयोजना भएका कुनै पनि ठूला प्रतियोगितामध्ये महर्जनले हल्चोकमा देखेको सबैभन्दा कम संख्याको दर्शक थियो । ‘ठूलो रंगशाला र दर्शकको हुटिङ भएन भने फुटबल खेलको आकर्षण नै रहन्न । यही स्तरको खेल दशरथ रंगशालामा भइदिएको भए, कस्तो हुन्थ्यो होला ? दशरथ रंगशालामा प्रतियोगिता नहुँदा खल्लो लाग्छ’, महर्जनले गुनासो पोखे ।

– सन् २०१८ सम्म एसिया कप छनोटका धेरै खेल सञ्चालन हुनेछन् ।
– सन् २०१२ मा एएफसी च्यालेन्ज कपमा दर्शकबाट पाँच करोड उठ्यो ।
– रंगशाला अभावमा दर्शकको उत्साह टेलिभिजनको पर्दामा सीमित ।
– दशरथ रंगशालाको विशिष्ट प्यारापिट पुनर्निर्माणको जिम्मा सेनालाई ।
– हल्चोकमा नेपाली समर्थकले चाहेर पनि खेल हेर्न पाएनन् ।

महर्जन नेपाली फुटबलका प्रतिनिधिपात्र मात्र हुन् । उनीजस्तै हजारौं नेपाली दर्शक पछिल्लो समय फुटबल खेलको आनन्द लिन वञ्चित छन् । कारण एउटै हो, नेपालमा स्तरीय फुटबल रंगशालाको अभाव । लामो समयपछि नेपालमा यमन र नेपालबीच अन्तर्राष्ट्रिय प्रतियोगिता भयो । तर, आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले रंगशालाको अभावमा सात सयको संख्यामा मात्र दर्शकलाई प्रवेश गरायो । कम दर्शक क्षमताको हल्चोक मैदानमा नेपाली समर्थकले चाहेर पनि नेपालको खेल हेर्न पाएनन् । नगण्य दर्शक पनि घरको छ त र वरपरको खाली स्थानमा बसेर खेल हेर्न बाध्य भए ।

देशको एउटा मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालामा ०७० सालदेखि फुटबल गतिविधि ठप्प छ । त्यतिबेला साधारण प्यारापिट रेट्रो फिटिङ गर्ने, प्यारापिटमा छानो हाल्ने र प्लास्टिकको कुर्सी राख्ने भन्दै निर्माण सुरु गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्यसचिव युवराज लामाको पहलमा थालिएको रेट्रो फिटिङ त पूरा भयो तर एक वर्षमा सम्पन्न हुने भनिएको अन्य कामले भने चार वर्ष बितिसक्दा पनि पूर्णता पाउन सकेन । भूकम्प आउनुअघि नै सम्पन्न भइसक्नुपर्ने रंगशालाको निर्माण अहिले भूकम्पको बहानामा टर्दै गएको छ ।

दशरथ रंगशालाको निर्माण कार्यले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नको जवाफ अहिले पनि अनुत्तरित छ । राखेपअन्तर्गत पूवार्धार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय भन्छन्, ‘खेलकुदको संरचना कस्तो बन्ने र कहिलेसम्म बनिसक्ने भन्ने विषय राखेप नेतृत्वको इच्छाशक्तिमा पनि भर पर्छ ।’राखेपले दशरथ रंगशालाको विशिष्ट प्यारापिट पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । सेनाको अगुवाइमा अहिले विशिष्ट प्यारापिट भत्काउने काम सुरु गरिएको छ ।

एन्फाका अध्यक्ष नरेन्द श्रेष्ठ रंगशालाको अभावका कारण पछिल्लो समय नेपालले चाहेर पनि ठूला स्तरका प्रतियोगिता सञ्चालन गर्न नसकेको बताउँछन् । ‘मैदान र रंगशाला अभावमा कारण दर्शकको चाहनामा चोट लागेको छ । दर्शकबाट आउने करोडौं रुपैयाँसमेत गुमेको छ । रंगशाला भएको भए दर्शकबाट आउने पैसालाई फुटबल खेलकै विकासमा लगानी गर्न सकिन्थ्यो । खेलाडीको तयारी, वैदेशिक प्रशिक्षण र अन्तर्राष्ट्रिय सहभागितासमेत यही पैसाबाट चल्थ्यो’, श्रेष्ठ भन्छन् ।

एन्फाले चाहेर मात्र फुटबलको रंगशाला बनाउन असम्भव भएकाले सरकारले यसतर्फ ध्यान दिनु आवश्यक रहेको श्रेष्ठले बताए । उनका अनुसार हल्चोकमा गरिएको प्रतियोगिता १८ हजार दर्शक क्षमताको दशरथ रंगशालामा गर्न पाएको भए प्रतिदर्शक सात सय रुपैयाँ शुल्क लिए पनि सवा करोड रुपैयाँ एउटै खेलबाट आउने थियो । सन् २०१८ सम्म यमन र नेपालको जस्तै एसिया कप छनोटका धेरै खेल सञ्चालन हुनेछन् ।

एन्फाको आयोजनमा सन् २०१२ मा नेपालमा भएको एएफसी च्यालेन्ज कपमा एन्फाले दर्शक शुल्कबाट मात्र पाँच करोड रुपैयाँभन्दा बढी उठाएको थियो । त्यसपछि सन् २०१३ मा दशरथ रंगशालामै आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा पनि एन्फाले दर्शकबाट ठूलो रकम आम्दानी गरेको थियो । अहिले रंगशालाको अभावमा दर्शकको उत्साह टेलिभिजनको पर्दामा मात्र सीमित बनेको छ ।