इङ्ल्यान्डले युथ–२० को विश्व कप फुटबलको उपाधि जितेको छ। आइतबार राती दक्षिण कोरियामा भएको फाइनलमा भेनेजुएलालाई १–० ले पराजित गर्ने क्रममा इङ्ल्यान्डले ५१ वर्षपछि फुटबलको ठूलो उपाधिमा कब्जा जमाएको हो।

इङ्ल्यान्डले सन् १९६६ मा विश्व कप जितेपछि अहिलेसम्म फुटबलको ठूलो उपाधि हात पारेको थिएन। त्यसैले अहिलेको सफलताबाट इङलिस फुटब उत्साही देखिएको छ।

इभर्टन फरवार्ड डोमिनिक काल्भर्ट लेविनले पहिलो हाफमा गरेको गोल गर्ने जितको आधार बनेको थियो। न्युक्यासलका गोलरक्षक फ्रेडी उडमनले दोस्रो हाफमा भेनेजुएलाको पेनाल्टी रोकेका थिए। उडमनले अडालबेर्टो पेनारान्डाको पेनाल्टी जोगाएका थिए।

इङ्ल्यान्डले समूह चरणको खेलमा अर्जेन्टिनालाई ३–०, दक्षिण कोरियालाई १–० ले हराएको थियो। यस्तै, अन्तिम १६ मा कोस्टारिकालाई २–१, क्वाटरफाइनलमा मेक्सिकोलाई १–० र सेमिफाइनलमा इटालीलाई ३–१ ले पराजित गरेको थियो।

इङ्लिस युवा टोलीको यो सफलताका लागि वायने रोनी, माइकल ओवेन, ग्यारी लिनेकर, एलन सियररजस्ता इङ्लिस फुटबलका हस्तिहरुले बधाई दिएका छन्।