अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको भाउ बढेका कारण आपूर्तिकर्ता कम्पनी भागेपछि नेपालमा युरिया मलको चर्को अभाव भएको छ । हाल सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीसँग करिब पाँच हजार मेट्रिक टन युरिया मल मात्रै मौज्दात छ । यस्तै डीएपी दुई हजार र पोटास दुई हजार सात सय मेट्रिक टन मौज्दात छ । यतिबेला युरिया मलको माग सबैभन्दा बढी छ ।

कृषि सामग्री कम्पनीका अनुसार आपूर्तिकर्ता कम्पनी नै भागेपछि आगामी चैतसम्म युरिया मल चरम अभाव हुने भएको छ । गहुँबाली, चैते धानबाली र मकैका लागि किसानलाई पाँच महिनासम्म युरिया मलको चर्को अभाव हुने कम्पनीले जनाएको छ । ‘आपूर्तिकर्ता कम्पनीले कबोल गरेको युरिया मल समयमा आएको भए अभाव हुँदैन्थ्यो’, कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक अमर खैरले भने, ‘आपूर्तिकर्ता कम्पनी नै भागेपछि युरिया मलको नियमित उपलब्धताको क्रम भंग भएको छ ।’ आपूर्तिकर्ता कम्पनीले २५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने कबोल गरेको थियो ।

खैरका अनुसार युरिया मल खरिद गर्न आह्वान गरिएको ग्लोबल टेन्डरको समयमा अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य घटेको थियो । त्यो बेला प्रतिमेट्रिक टन मलको अन्तर्राष्ट्रिय मूल्य दुई सय ७५ थियो । ‘सोही अन्तर्राष्ट्रिय मूल्यका आधारमा आपूर्तिकर्ता कम्पनीले टेन्डर प्रस्ताव गरेको थियो’, खैरले भने, ‘तर सम्झौता गर्ने बेलामा प्रतिमेट्रिक टन मलको अन्तर्राष्ट्रिय मूल्य तीन सय ४४ पुग्यो । अन्तर्राष्ट्रिय मूल्य बढेपछि घाटा लाग्ने भन्दै कम्पनी सम्झौता गर्न नै आएन । हामीले धेरै पटक पत्राचार गर्‌यौं तर सम्झौतामा आउन मानेन ।’

टेन्डर आह्वानको क्रममा सबैभन्दा कम मूल्यसहित दुबईको कम्पनी कमोडिटी फस्र्ट डीएम सीसीले मल आपूर्तिका लागि प्रस्ताव गरेको थियो । कमोडिटी कम्पनीले सबैभन्दा कम मूल्य प्रस्ताव गरेका कारण आपूर्तिका लागि कृषि सामग्रीले छनोट गरेको थियो । निर्धारित समयमा युरिया मल खरिदसम्बन्धी सम्झौता नहुँदा अभाव हुन थालेको छ । यो कम्पनीले निर्धारित समयमै आपूर्ति गरेको भए आगामी पाँच महिनासम्म युरियाको अभाव हुने थिएन ।

दुबईको कम्पनीले सम्झौतामा आउन नमानेपछि कृषि सामग्रीले युरिया मल खरिदका लागि डेढ महिनाअघि पुनः दोस्रोपटक ग्लोबल टेन्डर आह्वान गरेको थियो । दोस्रोपटकको टेन्डरमार्फत सबै प्रक्रिया पूरा गरी युरिया मल भित्र्याउन कम्तीमा पाँच महिना लाग्नेछ ।

युरिया मलको चर्को अभाव भइरहँदा भारतबाट लुकाईछिपाई ल्याउने मलसमेत नआउँदा किसान चर्को अभाव व्यहोर्न बाध्य भएका छन् । भारतीय बजारमा युरिया मल सस्तो भए पनि चोरबाटोबाट ल्याउँदा नेपालमा पाइने मूल्यभन्दा बढी महँगोपर्ने भएकाले उताबाट पनि आपूर्ति हुन नसकेको स्रोतले जनाएको छ । भारतबाट युरिया मल ल्याउँदा प्रतिबोरा साढे आठ सय रुपैयाँ मूल्य पर्छ । सरकारले भने केही साताअघि नेपाली युरियालाई प्रतिबोरा सात सय रुपैयाँ मूल्य तोकेको छ ।

कृषि सामग्रीले केही महिनाअघि युरिया मल ३० हजार मेट्रिक टन र डीएपी २० हजार मेट्रिक टन भित्र्याउन टेन्डर आह्वान गरेको थियो । यसमध्ये डीएपी आउने क्रममा छ । यस्तै थप ३० हजार मेट्रिक टन युरिया र साढे सात हजार मेट्रिक टन पोटास मल खरिद गर्न पनि टेन्डर आह्वान गरिएको छ । कृषि सामग्रीले टेन्डरमार्फत सिंगापुर, चीन, क्यानाडा, इजराइल, रुस र युक्रेनजस्ता मुलुकबाट रासायनिक मल भित्र्याउने गरेको छ ।

नेपालमा वार्षिक सात लाख ८५ हजार मेट्रिक टन मल माग छ । तर, औपचारिक र अनौपचारिक रूपमा करिब तीन लाख मेट्रिक टनसम्म आपूर्ति हुँदै आएको छ । सरकारी स्तरबाट अनुदानमा एक लाख ४५ हजार मेट्रिक टन रासायनिक मल आपूर्ति हँदै आएको छ । सरकारले प्रतिकिसान तराईमा चार हेक्टर र पहाडमा १५ रोपनी जग्गालाई तीन बालीका लागि अनुदानमा मल उपलब्ध गराउने व्यवस्था छ ।