बोक्सी आरोपमा आफ्नै छिमेकीद्वारा यातना दिएपछि न्यायका लागि प्रहरीमा उजुरी गरेकी राजकुमारी रानाको मृत्यु भएको पनि एक वर्ष पुगेको छ तर, पीडक अझै पक्राउ परेका छैनन् । वेलादेवीपुर गाविस (हालको अत्तरिया नगरपालिका) कि स्वर्गीय रानालाई २३ चैत्र २०६९ मा उनका चार छिमेकी धर्मसिंह राना, रामसिंह राना, मिरा राना, र रामकुमारीले बोक्सीको आरोप लगाउँदै अमानवीय यातना दिएका थिए ।

सो दिन विहानको समयमा पीडकले घरभित्र प्रवेश गरी सुतिरहेकी रानालाई घिर्सादै बाहिर ल्याई निर्घात कुटपिट, केश मुण्डन, कालोमोसो दल्नुका साथै गुप्ताङ्गमा काठ घोचेर यातना दिएका थिए । घटना भएको चार वर्ष पुग्न लाग्दा समेत रानालाई बोक्सीको आरोप लगाई याताना दिने चारमध्ये एक रामसिहं राना भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले राजकुमारीलाई यातना दिने पीडक मध्ये मिरा राना, रामकुमारी राना र धर्मसिहं राना एक वर्षको जेल सजायँ काटेर घर फर्किसकेको जानकारी दिनुभयो । ‘राजकुमारी रानालाई यातना दिने तीनजनाले जेल सजायँ काटेर घर फर्किसके तर, रामसिहं फरार छन् । उनलाई खोजतलास गरिरहेका छौ ।’ प्रहरी उपरीक्षक चन्दले भन्नुभयो ।
रानाको ६५ वर्षको उमेरमा आफ्नै घरमा २०७२ मंंसिरमा मृत्यु भएको थियो । उनी कुरिती अन्त्य समाज कैलालीकी अध्यक्ष समेत थिइन् । बाेक्सी आराेप लगाउँदै दिइएकाे यातना र मानसिक रुपमा बिक्षिप्त उनकाे यही कारण मृत्यु भएको  थियाे ।

कानुनमा के छ ?

बोक्सीसम्बन्धी (कसुर र सजायँ) ऐन २०७१ मा भनिएको छ, ‘कसैले कसैलाई बोक्सी आरोपमा यातना दिएको प्रमाणित भएमा १० वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’

कानुनले बोक्सी आरोपमा गाली बेइज्जती गर्ने तथा आरोप लागेको व्यक्तिको परिवारका सदस्यलाई अपमानजनक व्यवहार गर्नेलाई एक वर्षदेखी तीन वर्षसम्म कैद सजायको व्यवस्था समेत गरेको छ । बोक्सी आरोपमा सामाजिक बहिष्कार गरेर पीडितलाई बसेको स्थानबाट निकाला गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । धामीझाँक्री, टुनामुना, तन्त्रमन्त्र र झारफुकको माध्यमबाट बोक्सी आरोप लगाउनेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुनेछ ।

यसैगरि, कानुन अनुसार बोक्सी आरोप लगाएर कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रसायनिक, विषालु वा जैविक पदार्थको प्रहार गरी वा अन्य कुनै किसिमले यातना दिन पाइने छैन । पीडितलाई मलमूत्र खुवाउने, चारपाटा मुड्नेलाई १० वर्ष कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । बोक्सी आरोपमा अंगभंग गर्नेलाई १० वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजायँ हुनेछ । यसको साथै, प्रहरी अनुसन्धानमा दख्खल दिन खोज्नेलाई ३० हजार जरिवाना र ३ महिना कैद गर्ने व्यवस्था छ ।