तीन दिनभित्र अवरुद्ध संसद संचालन गर्नेबारेमा सहमति गर्न दलहरुलाई समय दिएकी सभामुख ओनसरी घर्तीले सोमबार बैठक शुरु हुने समयसम्म सहमति नभए प्रकृया अघि बढाउने बताएकी छन्।

उनले सोमबार अपरान्हका लागि डाकिएको संसद बैठकमा सहभागी हुने सबै दलका शीर्ष नेतालाई खबर गरेको बीबीसीलाई बताइन्।

अब निरन्तर संसदभित्रै छलफल गरेर दलहरुले सहमति जुटाउनुपर्ने उनको भनाई छ।

सत्तारुढ र विपक्षी दलहरु बीच सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई लिएर देखिएको मतभेद हल हुन नसकेपछि सभामुखको पछिल्लो चेतावनी आएको हो।

नपर्खिने

विपक्षीहरुले संविधान संशोधन विधेयक संसदको कार्यसूचीमा रहँदासम्म संसद बैठक चल्न नदिने बताइरहेका छन्।

सरकारले मंसिर १४ गते संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरे यता हरेकपटक बोलाइएका संसदका बैठक प्रमुख विपक्षी नेकपा एमाले लगायतका दलले विरोध गर्दै आएका छन्।

विपक्षी सांसदलाई आफ्नो स्थानमा बस्न आग्रह गर्दै बैठक अर्को दिनका लागि बैठक सार्दै आएकी सभामुख ओनसरी घर्तीले पछिल्लोपटक दलहरुलाई तीन दिनभित्र सहमति गर्न भनेकी थिइन्।