झुम्म मान्छेको भीड, सेवाग्राहीबीच टाउको जुध्लाजस्तो-बीचमा मालपोत अधिकृत । जग्गा रजिस्ट्रेसन पासको लिखत, लालपुर्जा हेरेर नागरिकतासँग प्रमाणित गर्दै थिए चाबहिल मालपोत कार्यालयका अधिकृत रञ्जन घिमिरे । पछिल्लो समय मालपोतमा हुने यस्तो भीडभाड स्वभाविक नै भएको छ ।

दैनिक साढे ११ बजेदेखि बेलुका ४ बजेसम्म यसरी नै मालपोतमा जग्गा पास, लिखत नामसारी, बकसपत्र तथा दृष्टि बन्धक (बैंक धितो)मा जग्गा राख्नेको भीड लाग्ने गरेको छ । त्यसो त ‘सोमखेती बुध घर’ भन्ने प्रचलनका कारण साताका अन्य दिनमाभन्दा यी दुई दिनमा मालपोत कार्यालय अझै भीडभाड हुने गर्छ ।

‘दिनमा औसत २० वटा जग्गा रजिस्ट्रेसन पास हुन्छ, १५ वटा जति दृष्टिबन्धक,’ घिमिरे भन्छन । पहिला टोखा र साँखु नछुट्टिदा चाबहिलमा अझ भीडभाड हुन्थ्यो । गत मंसिरबाट टोखामा मालपोत कार्यालय खुलेको छ । साँखु र मनमैजुमा २०७०७१ मा खुलेको थियो । यसअघि २०६४६५ मा जग्गाको कारोबार अकासिदा अहिलेभन्दा भीडभाड बढी हुने गरेको लेखापढी गर्दै आएका शिवराम रिमाल सुनाउँछन् । त्यतिबेला दिनमै एक सय २५ थान घरजग्गा पास हुने गरेको थियो ।

भूकम्पपछि चाबहिल मालपोत कार्यालयमा पर्ने कपन, बूढानिलकण्ठ, जोरपाटी, गोकर्ण, बालुवा, चपली क्षेत्रमा घरजग्गाको कारोबार दोब्बरले वृद्धि भएको प्रमुख मालपोत अधिकृत पृथबहादुर केसीले बताउँछन । गत वर्षबाट नगरपालिका घोषणा भएसँगै यहाँ जग्गाको भाउ र कारोबार दुवै बढ्न थालेको हो । नगरपालिका हुनु अघिसम्म ठाउँ हेरेर ६ देखि १५ लाख प्रतिआनामा पाइने यस क्षेत्रका जग्गाको मूल्य अहिले दोब्बरले वृद्धि भएको छ ।

‘एक वर्षमा जग्गाको भाउ दोब्बर बढ्यो,’ जोरपाटीका सुदीप ढुंगान भन्छन्, ‘ माघमा एक करोड १५ लाखमा घर किनेको थिए, अहिले दुई करोड दिन आइसके ।’ चाबहिलकी रचना सुवेदीले तीन महिना अघिमात्र मूलपानीमा आनाको १२ लाख ४० हजार रुपैयाँमा किनेको चार आना जग्गा अहिले १८ लाख दिन आइसके ।

सुन्दरीजल क्षेत्रमा पनि जग्गाको भाउ यसरीनै आकासिएको छ । तीनचार महिनाअघिसम्म ४ देखि ६ लाख आना रहेको जग्गाको भाउ ८१० लाख रुपैयाँ आनाको पुगिसकेको छ । उस्तै अवस्था थानकोट, कीर्तिपुरतिर छ । भिरालो जग्गा आनाको ४ लाखमा किनेर डोजरले सम्याइ प्लटिङ गरेपछि एक महिनामै भाउ दोब्बर भएको कीर्तिपुरका जग्गा कारोबारी रमेश कार्की सुनाउँछन् ।

कीर्तिपुरको टौदहमा पनि अहिले राम्रो तथा बाटो छेउको जग्गा आनाकै २० लाख पुग्न लागेको छ । बाटो पुगेको ठाउँमा १० लाख र भित्र ५ लाखदेखि ८ लाख रुपैयाँ आनाको कारोबार भइरहेको स्थानीयले बताए । बाहिरी चक्रपथ बन्ने हल्ला भएपछि जग्गाको भाउ अझ आकासिँदो छ, दैनिक १०१२ समूह जग्गा खोज्न आउँछन् । कतिपयले एउटैजग्गालाई १० पटकसम्म बैना लिएको समेत उनले बताए । जग्गा पासै नगरी नाफा लिँदै बैना एकबाटै अर्को खरिदकर्तालाई दिने प्रचलन बढ्दै गएको छ ।

गत वर्ष नगरपालिका हुनुभन्दा पहिला १२१५ लाखमा पाइने नागार्जुन क्षेत्रको जग्गाको भाउ बढेर अहिले २० देखि ३० लाखसम्म पुगेको नागार्जुन रानीवनका हेमबहादुर थापाले बताए । थापाका अनुसार नागार्जुन, थानकोट, कीर्तिपुर, भैंसेपाटी, इमाडोललगायतका क्षेत्रमा जग्गा प्लटिङ गरेर बिक्री गर्नेको संख्या थपिँदै छ ।

घरजग्गाको कारोबार बढ्दा ‘बैना टु बैना’ को कारोबारसमेत बढ्दैछ । चाबहिल र कलंकीमामात्र होइन, काठमाडौंको अन्य मालपोत कार्यालय कलंकी, मनमैंजु, टोखामा पनि दिनप्रतिदिन जग्गा खरिदकर्ताको भीडभाड बढ्दोछ । जग्गा कारोबारीका लागि धान थन्काइसकेपछिको समय उपयुक्त हुने साँखुका प्रमुख मालपोत अधिकृत किरण भट्टराई बताउँछन् ।