मेहिनत र लागत अनुसार दुधको मुल्य नपाएपछि इलामका किसान आफै दुग्धजन्य उद्योग खोल्न अग्रसर बनेका छन्। बजारमा दूधको मूल्य कम भएपछि किसान आफैले घिउ, छुर्पी, चिज, ललिलप लगायत खाद्यवस्तु उत्पादन गरेका छन्। उनीहरु आफै किसान र आफै उद्यमको मालिक बन्न थालेका छन्। इलाममा अहिले २२४ वटा डेरी उद्योग सञ्चालनमा छन्। दर्ताको प्रक्रियामा समेत धेरै डेरी उद्योग छन्। इलामका धेरैजसो डेरीले दैनिक ५० देखि पाँच सय लिटरसम्म दूध प्रशोधन गर्ने गरेका छन्। दुग्ध विकास संस्थान अन्तर्गतका तीन बाहेक २४ वटा निजी लगानीका चिज कारखाना सञ्चालनमा छन्। हरेक चिज कारखानाले दैनिक एक हजारदेखि तिन हजार लिटरसम्म दूध प्रशोधन गर्छन्। दैनिक २ सयदेखि ७ सय लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने नौ वटा ललिपप उद्योग इलाममा चलिरहेका छन्। आफैं प्रशोधन उद्योग खोलेर सञ्चालन गर्दा स्थानीय बासिन्दालाई रोजगारी दिन सकिने र आम्दानी पनि राम्रो हुने व्यवसायी बताउँछन्। धेरैले घरैमा चलाउन मिल्ने डेरी उद्योगमा लगानी गरिरहेका छन्।‘अमेरिकामा छुर्पी निर्यात हुने र घ्यूको मूल्य राम्रो पाइने भएकाले मेहिनेतअनुसार कमाइ राम्रै गर्न सकिन्‍छ,’ माईमझुवाका दिलिप राई भन्छन्। व्यापारीहरू गाउँ–गाउँ गएरै घ्यू र छुर्पी ६ सय रुपैयाँ प्रतिकिलोभन्दा माथिल्लो मूल्यमा खरिद गर्ने गरेका छन्। जिल्ला पशुसेवा कार्यालयले इलाममा दैनिक ३ लाख ३६ हजार लिटर दूध उत्पादन हुने गरेको जनाएको छ। त्यसमध्ये घरायसी प्रयोजनमा खर्च हुने दैनिक डेढ लाख लिटर दूधबाहेक सबै दूध विभिन्‍न दुग्धजन्य उद्योगमा बिक्री हुन्। बिक्री हुने २ लाख लिटर दूधमध्ये ठूलो हिस्सा स्थानीयस्तरमा खुलेका उद्योगमा खपत हुने कार्यालयले जनाएको छ. यसअघि दैनिक ५० देखि ६० हजार लिटरसम्म दूध विराटनगरस्थित दुग्ध वितरण आयोजनामा जाने गरे पनि जिल्लामा उद्योग खोल्ने किसान बढेसँगै यो परिमाण क्रमशः घट्दै गएको छ। कृत्रिम गर्भाधानबाट उन्‍नत जातको गाईपालन बढेसँगै दूध उत्पादन पनि बढ्दै गएको छ । आफ्नै उद्योग सञ्चालन गर्ने कृषकका लागि उपकरण खरिद, डेरी प्रवद्र्धन, नश्ल सुधारलगायतमा पशुसेवा कार्यालयले सहयोग पुर्‍याउँदै आएको छ। निजी उद्योगको वृद्धिसँगै चिस्यान केन्द्र पनि समुदायिकस्तबाट खुल्ने क्रम बढ्दो छ। समुदायस्तरबाट जिल्लामा आठ वटा चिस्यान केन्द्र सञ्चालनमा छन् । संस्थानअन्तर्गत पनि आठ वटा चिस्यान केन्द्र छन्। पछिल्लो समय इलाममा चिज कारखानाप्रति किसानको आकर्षण बढ्दो छ। बाक्लै खुलेका चिज कारखानाले गत वर्ष २७ करोड रुपैयाँ बराबरको चिज उत्पादन गरी बिक्री गरेका छन्। संस्थान अन्तर्गत रक्से, नयाँबजार, देउराली र पशुपतिनगरमा चिज कारखाना सञ्चालित छन्। बाँकी २० वटा कारखाना निजीस्तरबाट सञ्चालित छन्। निजी क्षेत्रबाट सूर्योदय नगरपालिका, पशुपतीनगर,लक्ष्मीपुर, नयाँबजार, सुलुबुङलगायतमा कारखाना सञ्चालित छन्। संस्थान र निजी सबै कारखानाले पाँच लाख दुई हजार किलो चिज उत्पादन गरेका छन्। वार्षिक ४५ लाख लिटरभन्दा धेरै दूध चिज निर्माणमा मात्र खपत हुने जनाइएको छ । ‘दूधबाट बन्‍ने चिज मन पराउने स्वदेशी र विदेशीको संख्या बढ्दै गएकाले यस्को माग धेरै छ,’ हिमालयन चिज एसोएिसनका तुलुकामी तामाङ भन्छन्, ‘राजधानी लगायत अन्य प्रमुख शहरमै अधिकांश चिज खपत हुने गरेको छ।’ औसत ४० रुपैयाँ प्रतिलिटर दूधको मूल्य दिने कारखानाले प्रतिकिलो ६ सय रुपैयाँको हाराहारीमा चिज बिक्री गर्छन्। गुणस्तरीय चिज उत्पादनका लागि सम्बन्धित पक्षबाट प्राविधिक ज्ञान र आवश्यक सहयोग पर्याप्त नभएको व्यवसायीको गुनासो छ। जिल्लाका चिजलगायत दुग्धजन्य उद्योगमा वार्षिक ४८ करोडभन्दा बढीको कारोबार हुने गरेको पशुसेवा कार्यालयको तथ्याङ्क छ।’