संसद् अवरोध लम्बिदै गएका बेला प्रधानमन्त्री प्रचण्ड र प्रमुख विपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आरोप-प्रत्यारोप बढ्दै गएको छ।

दाङ पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै सहमतिको विकल्प नभएको दोहर्याए। तर प्रमुख प्रतिपक्षी एमालेलाई क्रुद्ध बनाइदिएको संशोधन विधेयक अघि बढाउने दृढता पनि व्यक्त गरे।

उनले भने, “यो प्रस्ताव फिर्ता हुन सक्दैन, संसदमा प्रवेश गरिसकेकाले पास/फेल जे भए पनि संसदीय प्रक्रियाबाटै त्यसको टुंगो लाग्छ। अर्को विकल्प हुनै सक्दैन।”

प्रधानमन्त्री प्रचण्डले विगतमा त्यस्तै खाकामा एमालेले सहमति जनाएको सन्दर्भ उल्लेख गर्दै भने, “संघीयताका सीमा हेरफेर भैरहन्छन्, प्रदेशको संख्या घटबढ भैरहन्छ, त्यो त एउटै देशभित्रको कुरा हो। तर देशै टुक्रियो जस्तो गर्दै हुनुहुन्छ, उसो भए तपाईहरुले पहिले गरेको प्रस्ताव टुक्र्याउन हो?”

प्रधानमन्त्रीको त्यो प्रश्न बागलुङस्थित बीबीसी नेपाली सेवाकी संवाददाता रबिना बोहराले एमाले अध्यक्ष ओली समक्ष राखेकी थिइन्।

ओलीको जवाफ थियो, “त्यसो भए उहाँहरुले हामीले भनेको मान्न खोजेको हो? त्यसबेला सबै समस्या समाधान हुन्छ भनेर काँग्रेसले राखेको प्रस्तावमा कुरा भएको हो। तर समस्या थप बल्झिने भएपछि, त्यसभित्रका उद्देश्य प्रकट भए पछि हामीले खारेज गरिदियौं।”