सिरियाको अलेप्पोमा विद्रोही नियन्त्रित इलाकाबाट झण्डै तीन हजार मानिसलाई बस तथा एम्बुलेन्सबाट उद्दार गरिएको अधिकारीहरुले बताएका छन्।

रेडक्रसको अन्तराष्ट्रिय समितिले सर्वसाधारण र विद्रोहीको उद्दार कार्य पूर्ण रुपमा सकिन कयौँ दिन लाग्न सक्ने जनाएको छ।

रुसको समर्थन पाएका सरकारी फौजले यसै हप्ता अलेप्पोको विद्रोही नियन्त्रित बाँकी भूभाग लगभग पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएका थिए।

त्यसलाई राष्ट्रपति बसर अल असदको महत्वपूर्ण जीतका रुपमा हेरिएको छ।

अलेप्पोबाट उद्दार गरिएका मानिसलाई इडलीब प्रान्तमा सुरक्षित रुपमा लैजान थालिएको छ।

त्यहाँको सुरक्षा अवस्था तुलनात्मक रुपमा मात्रै राम्रो रहेको जनाइएको छ।

सिरियाका लागि राष्ट्रसंघका दूत स्टेफान ड मिस्टुराले अहिले सुरक्षित मार्ग उपलब्ध गराइएका विद्रोही सैनिक तथा उनीहरुका परिवारले आफूलाई अलेप्पोको जस्तै स्थितिमा निकट भविष्यमा नै पाउन सक्ने बताएका छन्।

यदी युद्धविराम भएन वा राजनीतिक समझदारी बनेन भने इडिलीब प्रान्त नयाँ अलेप्पो बन्ने उनले चेतावनी दिएका छन्।

यसअघि अमेरिकी विदेशमन्त्री जन केरीले सिरियामा भएका हत्या र पीडाका लागि राष्ट्रपति असद र रुस जिम्मेवार रहेको भन्दै उनीहरुले शान्तिका लागि रणनीतिक निर्णय लिनुपर्ने बताएका छन्।

अनलाईनमा राखिएको भिडियो सन्देशमा राष्ट्रपति असद पछिल्लो उपलब्धीप्रति दंग रहेको देखिन्छन् र उनले ‘अलेप्पोको मुक्तिले इतिहास बदल्ने’ धारणा राखेका छन्।

तर राष्ट्रसंघका अर्का एक जना अधिकारीले आफ्नो निराशाजनक मूल्यांकन सुनाउँदै भनेका छन्, ‘अलेप्पो शहर निर्माण गर्न ४ हजार वर्ष लगेको थियो। त्यसलाई क्षतविक्षत बनाउन मात्रै चार वर्ष लाग्यो।’