संयुक्त राष्ट्रसंघका निम्ति रुसी राजदूत भिटाली चुर्किनले पूर्वी अलेप्पोमा जारी सैनिक कारवाही रोकिएको जनाएका छन्।

त्यहाँ विद्रोही नियन्त्रणमा रहेका बाँकी भूभाग सिरियाली सरकारी फौजको कब्जामा आइसकेको उनले बताए।

रुसी राजदूत चुर्किनले विद्रोही लडाकूहरुलाई बाहिर जान दिने व्यवस्था मिलाइएको बताए।

विद्रोहीहरुले पनि उक्त सहमति भएको पुष्टी गरे। तर उनीहरुले गैरसैनिकहरुलाई पनि शहर बाहिर जान दिने सहमति भएको बताए।

पछिल्ला विकासक्रमले अलेप्पोमा चार वर्षदेखि भइरहेको लडाइँ अन्त्य हुन सक्छ।

सो लडाइँमा परि हजारौंले ज्यान गुमाइसकेका छन्।

उक्त क्षेत्रमा रहेका सम्वाददाताहरुले वितेका केही घण्टाहरुमा त्यहाँ बमबारी वा लडाइँ नभएको बताएका छन्।

पछिल्ला महिनाहरुमा सरकारी फौजको कारवाही तथा रुसी हवाइ हमलामार्फत विद्रोहीहरुलाई शहरको सानो क्षेत्रमा खुम्चन वाध्य पारिएको थियो।