तीतेपाती जताततै पाइन्छ । तर यसको उपयोगबारे कमैलाई थाहा हुन सक्छ । या जानकारी भएर पनि बेवास्ता गरिन्छ । तीतेपातीको प्रयोगले दैनिक जीवनमा आइपर्ने स्वास्थ्य समस्या समाधान हुन्छ । विशेषगरी महिला प्रजनन स्वास्थ्य समस्या समाधानका लागि यो लाभदायी हुन्छ । महिनावारी भएपछि सरसफाइको कमीका कारण कतिपय महिलाको गुप्तांग चिलाउने हुन्छ । कन्याउँदाकन्याउँदा कतिपय महिला हैरान भएको गुनासोसमेत गर्छन् । यस्तो बेला तीतेपातीको पातबाट निकालिएको रस चिलाएको ठाउँमा दल्यो भने चिलाउन कम हुन्छ ।

तीतेपाती लगाउनुअघि सफा पानीले चिलाउने ठाउँ सफा गर्नुपर्छ । कतिपय महिलाको धेरै नै सेतो पानी बग्ने समस्याले हैरान भएका हुन्छन् । अलिअलि सेतो पानी बग्नु प्राकृतिक कुरा हो । गन्हाउने पीपजस्तो पानी बग्दा घरमै पनि समस्या समाधान गर्ने उपाय हो तीतेपाती ।

तीतेपातीलाई सफा गर्ने र त्यसको रस निकालेर गुप्तांगमा दलेमा वा त्यसलाई उमालेर बाफ लिएमा (तीतेपातीको मनतातो पानी राखेको ठूलो मुख भएको भाडामा थचक्क बस्ने ) उक्त समस्या धेरै हदसम्म निको हुन्छ । संसारमा ६ सय प्रजातिका तीतेपाती पाइन्छन् तर ती सबैमा समान रूपले औषधि गुण नहुन पनि सक्छन् ।

यद्यपि तिनमा कुनै न कुनै औषधीय गुण भने पक्कै हुन्छन् । तीतेपातीको रस लगाउनाले लुतो, ससाना घाउ, खटिरा पनि निको हुने गर्छन् । उपयोगिता बढी भएकाले तीतेपातीको महत्त्व बढ्दै गएको छ । उत्पादन कम भएकाले त्यसको मूल्य महँगो परेको हो । नेपालमा पहिलेदेखि नै गाउँघरमा तीतेपातीको प्रयोग हुँदै आएको छ । तर यसको उपयोगिताबारे कमैलाई थाहा छ । तीतेपातीको अकुप्रेसर र चाइनिज औषधिमा पनि यसको प्रयोग गरिन्छ ।