लुकास पेरेजको ह्याट्रिक गोलको सहयोगले इङ्लिस क्लब आर्सनलले मंगलबार राती भएको च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलमा बासेललाई ४–१ गोलले पराजित गरेको छ। जीतसँगै शीर्षस्थानमा रहेको आर्सनलले अंक तालिकामा १४ अंक जोडेको छ।

पेरेजले खेल सुरु भएको ८ र १६ मिनेटमा दुई गोल गर्दे पहिलो हाफमा क्लबको अग्रतालाई २–० मा पुर्याएका थिए। दोस्रो हाफको तीन मिनेटमा अर्को गोल थपेपछि उनले ह्याट्रिक पुरा गरे। चौथो गोल एलेक्स इओबीले ५३ मिनेटमा गरे।

बासेलले डोम्बियाको गोलमा ७८ मिनेटमा एक गोल फर्काएको थियो। समुह ‘ए’ अन्तर्गतको अर्को खेलमा पेरिस सेन्ट जर्मनी (पिएसजी) लाई लुडोगोरेट्स राजग्राडले २–२ को बराबरीमा रोक्यो। बराबरीको नतिजापछि फ्रेन्च क्लब पिएसजीले १२ अंकका साथ समुह चरणको खेलको समाप्ती गरेको छ। पिएसजी आर्सनलसँगै यसअघि अन्तिम १६ मा छनोट भइसकेको छ।