काठमाडौ । अमेरिकास्थित विख्यात म्यासाचुसेट्स इन्ष्टिच्यूट अफ टेक्नलजी (एमआइटी) ले हालै आयोजना गरेको ‘ग्लोबल आन्ट्रेप्रेनरसिप क्याम्प’ मा विश्वभरिबाट सहभागीले ‘मेड इन नेपाल’ लेखिएको शेर्पा एडभेन्चर गियर ज्याकेट लगाएका थिए । क्याम्पका सहभागीका लागि एमआइटीले शेर्पा गियरसँग हल्का निलो रंगका २ सय ज्याकेट अर्डर गरेको थियो । अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा फैलिरहेको शेर्पा गियरको उत्पादन यसअघि विश्व बैंक, विश्व खाद्य कार्यक्रमका अन्तर्राष्ट्रिय सम्मेलनमा पनि प्रयोग भइसकेको छ ।

अमेरिकाले कोटा दिएपछि सन् सत्तरीको दशकमा काठमाडौंमा गार्मेण्ट उद्योग खुल्न थाले । राजधानीका सडक/गल्लीमा च्याउ उम्रिएसरी गार्मेण्ट उद्योग खुले, ८० को दशकमा । नब्बेको दशकमा अमेरिकाले कोटा हटाएसँगै ति बन्द भए । गार्मेण्ट उद्योगका लागि सुनौलो समयमा उद्योग चलाएका टासी शेर्पाचाहिँ अमेरिका हान्निए ।

सियाटलमा मुख्य कार्यालय स्थापना गरी सन् १९९८ मा सुरु गरिएको शेर्पा गियर अन्तर्राष्ट्रिय ब्राण्डको रूपमा स्थापित हुदैछ । विश्वका २१ देशमा शेर्पा गियरको बजार फैलिइसकेको छ । शेर्पा एडभेन्चर गिएरले आफूलाई मात्र सफल बनाएको छैन, उसका उत्पादन अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहँदा नेपाललाई पनि विश्वसामु चिनाइ रहेको छ ।

कुल उत्पादनको ९५ प्रतिशत सामग्री नेपालमा उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा बेचिरहेको कम्पनीले ‘नर्थफेस’ जस्तो विश्व प्रशिद्ध ब्रान्डसँग गुणस्तर र बजारको आधारमा पनि प्रतिस्पर्धा गर्न थालेको छ । कम्पनीले हिमाली भेगको यात्रामा आवश्यक पर्ने कपडा ‘माउन्टेन वेयरिङ’, ‘टेकिङ’, ‘हाइकिङ’ का साथै साधारण प्रयोजनमा प्रयोग गरिने गार्मेण्ट र एसेसरीजको उत्पादन गर्छ ।

कम्पनीका अनुसार उसको कुल व्यापारको ४२ प्रतिशत बजारमा अमेरिका र २० प्रतिशत संयुक्त अधिराज्यले ओगटेको छ । कुल व्यापारको तिन प्रतिशत हिस्सामात्र स्थानीय बजारको छ । तैपनि कम्पनीको नेपालमा बार्षिक ८ करोड देखी १० करोड रुपैया“सम्मको कारोबार हुने गर्छ ।

नेपालमा आफ्ना बाबुबाजेले गर्दै आएको गार्मेण्ट व्यवसायका साथै भारत बसाईका क्रममा गार्मेण्ट व्यवसायका बारे सिकेको सिपको सदुपयोग गरेर उनले अमेरिकामा कम्पनी खोलेका थिए । फरक यति थियो, उनले त्यहाँ ‘हाइ एन्ड’ उत्पादनको मार्केट देखे । नेपालमा बन्ने गरेको साधारण कपडा भन्दा त्यहाँ ‘उच्च गुणस्तरीय’ कपडाको माग देखेर शेर्पा एडभेन्चर गिएरको नाममा आफ्ना उत्पादन सुरु गरेका थिए । अमेरिका जस्तो प्रतिस्पर्धात्मक बजारमा नेपाली उत्पादन बिकाउनु कम्ता चुनौतीपूर्ण हैन । जुन उनले पार गरे ।

उत्पादनको ९५ प्रतिशत सामग्री अन्तराष्ट्रिय बजारमा बेचिरहेका कम्पनीले ‘नर्थफेस’ जस्तो विश्व प्रसिद्व ब्रान्डसँग प्रतिष्पर्धा गर्न थालेका छन् ।

सफलताका लागि शेर्पाले दुईवर्ष कपडा भन्दापनि लगानी गरेर काम गर्ने कालिगढ उत्पादन गरे । त्यो दुई वर्षमा कालिगढले सिकेको सिपको प्रतिफल आज उत्पादनमा आउने फिनिसिङ र आकर्षक बनावट नै हो । जुन विश्व बजारमा ‘शेर्पा एडभेन्चर गिएर’ को नामले चिनिएको छ ।

ब्रान्डको सफलताको मुख्य कारण यसमा प्रयोग गरिएको ‘नेपाल’ ‘शेर्पा’ र ‘माउन्टेन’ शब्द नै हो । भुपरिवेष्ठित देशको रुपमा वा माउन्टेन भएको देशको रुपमा माया गरेर हो, यसका उत्पादनले समयमा सफलता हात पारेको छ । त्यति मात्र नभएर विश्वका अन्य ब्राण्डसंग प्रतिस्पर्धाका लागि गुणस्तरका साथै हलुका, आरामदायी तथा फिटिङ र आकर्षक बनावटमा ध्यान दिइएको छ ।

सियाटलको मुख्यकार्यालयमार्फत कम्पनीले बजार बिस्तार र बिक्री प्रवन्धको काम गर्नुका साथै त्यहाँबाट कपडाको डिजाइन गर्ने काम भइरहेको छ । नेपालको डिजाइनले मात्र उत्पादन उत्कृष्ट नहुने हुनाले धेरैतिरको डिजाइनरको आइडियालाई लिएर कम्पनीले सामान उत्पादन गर्ने गर्छ । कुनैपनि उत्पादनको डिजाइन फाइनल गर्नको लागि ६ देखी ८ महिनासम्म लाग्छ ।

१५ महिना पछि बजारमा आउने लुगाको डिजाइन अहिले भइरहेको छ । अहिले काम भइरेहको उत्पादन सन् २०१७ को लागि तयार भइरहेका छन् ।