राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणा नेपाली राजनीतिमा परिचित नाम हो । आन्तरिक राजनीति र बाह्य राजनीतिमा पोख्त राणा धर्मनिरपेक्षताका पक्षपातीलाई जनमतसंग्रह गर्न चुनौती मात्रै दिँदैनन् हिन्दु राष्ट्रका पक्षमा आन्दोलन हुने दाबी पनि गर्छन् । राष्ट्रहितलाई ध्यानमा राखेर भारत र चीनसँग ‘डिल’ गर्न सुझाव दिने राणा भारत वा चीनतिर ढल्केर राष्ट्रवादी नभइने मान्यता राख्छन् ।

पृथ्वीनारायण शाह, जंगबहादुर राणा, चन्द्रशमशेर र महेन्द्रले राष्ट्रहितका पक्षमा गरेका कामको अध्ययन गरी उनीहरूबाट सिकेर साझा परराष्ट्र नीति बनाउनुपर्ने धारणा राख्छन् राणा । नेपाली राजनीति, हिन्दु धर्मको बहस, भारत र चीनसँगको सम्बन्धलगायत विषयमा केन्द्रित रहेर राणासँग गरेको कुराकानी ।
-अहिलेको राजनीतिक परिस्थितिलाई कसरी मूल्याङकन गर्नु भएको छ ?

तीन वटा मुद्दाहरु मुलुकका अगाडि समस्याका रुपमा देखिएका छन् । संसदको अत्यन्त ठूलो बहुमतले पारित गरेको संविधान कार्यान्वयनको चरणमा छ । तर मधेशी,जनजाति र सदियौदेखि अन्यायमा परेका मान्छेको पाटोबाट हेर्ने हो भने मुलुकको ठूलो पक्ष संविधानसँग सहमत छैन । मधेशमा तीन खण्डको एक खण्ड संविधानसँग सहमत छैन । अहिले सरकारका अगाडि अत्यन्त ठूलो हाँक छ ।

यो संविधान कार्यान्वयन गर्न एक सय ३० भन्दा बढी कानुन संसदबाट पारित गर्नुछ । डेढ बर्षभित्र तीन वटा चुनाव हुनुपर्छ । यसका लागि अत्यन्त ठूलो गतिमा काम गर्नुपर्छ । अर्को भुकम्पबाट प्रभावित क्षेत्रमा गर्नु पर्ने पुननिर्माणको काम छदैछ । यद्यपी अहिले सरकारले सहानुभुतिपूर्वक यो कामलाई अगाडि बढाइरहेको छ । भुकम्प पीडित जनताको घर आँगनमा उनीहरुले प्राप्त गर्नु पर्ने लाभ अझै त्यति राम्रोसँग पुग्न सकेको छैन । नेपालको भुराजनीतिमा ठूलो अदलबदल आए जस्तो देखिन्छ ।

– राजनीतिक अन्यौल अन्त्य गर्न र स्थायित्व प्राप्तिका लागि तपाईहरुको साझा एजेण्डा के हो ?

संविधान निर्माण प्रक्रियाबाट अलग्गिएका मधेश,जनजातिलाई संविधान कार्यान्वयन प्रक्रियामा सामेल गर्ने हाम्रो मुख्य लक्ष्य हो । त्यो लक्ष्यमा काँग्रेस र माओवादी सहमत भएकोले हामी सरकारमा सामेल भएका हौ । भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणलाई तीब्रता दिनका लागि दुइ लाख रुपैया अनुदानलाई तीन लाख बनाउने र तीन लाख रुपैया सामूहिक जमानीमा निव्यार्जी ऋण उपलब्ध गराउने बिषयमा प्रधानमन्त्रीको नियतबाट हामी प्रभावित भयौ र त्यहि काम गर्नुपर्छ भनेर हामी सरकारमा सहभागी भएका हौ । परराष्ट मामिलामा नेपालमा ठूलो परिवर्तन शुरु भए जस्तो देखिन्छ । त्यस्तो वेला सकेसम्म धेरै शक्ति एक ठाउँमा आउनुपर्छ । र त्यो हाँकलाई सामना गर्नुपर्छ भन्ने धारणाले हामी सरकारमा सहभागी भएका हौ ।

– पञ्चायतको पृष्ठभूमिबाट राजनीतिमा आउनुभएको तपाईले गणतन्त्रको संविधान कार्यान्वयन हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?

संविधान कार्यान्वयन गर्न अत्यन्त गाह्रो छ । तर गाह्रो कुरा पूरा गर्न खोज्नु राजनीतिज्ञ वा राजनेताको कर्तव्य हो ।

– संविधान कार्यान्वयन भएन भने मुलुकको राजनीतिक दिशा कतातिर जाने देख्नु हुन्छ ?

संविधान कार्यान्वयन नहुनु दुर्भाग्य हो । त्यस्तो अवस्थामा के हुन्छ भने राजनीतिमा नियम हुन्छ । त्यस्तो कुरा पुलमा पुगेपछि मात्रै तर्नुपर्छ । अगाडि नै तर्ने काम गर्नु हुँदैन ।

-त्यो नियम ०७४ माघ ७ गते भित्र तीनवटा निर्वाचन हुन नसकेपछि दुइ बर्ष समय थप्ने हो ?

त्यस्तो होइन । अहिलेसम्म संविधान कार्यान्वयन गर्ने, तीन वटा निर्वाचन समयमै गर्ने इमान्दार चेष्टा हुनुपर्छ । त्यस्तो नभएको अवस्थामा कसरी समाधान गर्ने भन्ने नियम भनेको हुँ ।

– त्यो अवधिमा तीन वटा निर्वाचन हुने संभावना देख्नु हुन्छ ?

एउटा उपाय छ । अहिलेकै संरचना भनेको करीव तीन हजार गाविस बाँकी छन । ती गाविस र नयाँ नगरपालिकालाई मानेर त्यहि संरचनामा चुनाव गर्ने हो भने कार्यान्वयन गर्न सकिन्छ । कस्तो गाउँपालिका भनेर विवाद गरिराख्यौ भने कसैको सहमति हुँदैन । कसैले पाँच सय ६५ भनेका छन कसैले इलाकालाई आधार बनाउ भनेका छन । कसैले यी दुवै हुँदैन भनेका छन । यस्तो गर्न जरुरी छैन । २० बर्षसम्म स्थानीय निकायको चुनाव नहुनु जनता माथि साँच्चिकै अन्याय भएको छ । हामी जसरी पनि स्थानीय चुनाव गराउँछौ भन्ने हो भने अहिले रहेको गाविस र नगरपालिकाको संरचना अनुसार गर्ने र प्रान्त सिर्जना गरेपछि कस्तो गाउँ पालिका बनाउँछौ भन्नुपर्छ । कस्तो गाउँपालिका भनेर निर्णय गर्ने अधिकार प्रान्त र केन्द्र सरकारको हुन्छ ।

– संघीयताको वकालत गर्दै आएको आएको व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ । उहाँले तपाईले भने जस्तो चुनाव गर्न उहाँले सक्नु होला ?

उहाँले प्रान्त बनाउनुपर्छ भन्नु भएको छ । हामी प्रान्त बनाउन तयार छौ । अहिले नै स्थानीय चुनाव गर्ने हो भने धेरै अलमलमा नफसौ,भएका वस्तुस्थितिलाई मानेर चुनाव गरौ । प्रान्त बनिसकेपछि उहाँहरुले परिकल्पना गरेको गाउँ पालिका बनाउला नी ।

-राप्रपाको एकीकरण प्रक्रियामा तपाई माथि आरोप पनि लागेको छ । यसमा के भइरहेको छ ?

अन्तरिम बिधान बनेपछि अघिल्लो महिनाको २३ गते बसेको कार्यसम्पादनको बैठकमा गम्भीर समस्याहरु देखिए । ती कुरा सच्याएपछि मात्रै एक जुट हुन सकिन्छ भनेर त्यो अल्झिएको हो । जुनसुकै वेला अन्तरिम बिधानमा राखिएका बिषय सच्चिएर आउँछन,हामी मिल्न तयार छौ । यो कुरा मैले सात वटा भेलामा पनि बोलेर आएको छु ।

– तपाईहरु हिन्दु धर्मको पक्षमा वकालत गरिरहनु भएको छ ? हिन्दु धर्म फेरी फर्कन संभव छ ?

८१ प्रतिशत भन्दा बढी हिन्दु धर्म मान्ने मानिसहरु छन । ओमकार परिवारलाई जोडने हो भने ९१ प्रतिशत हुन्छ । यति ठूलो पक्षसँग कहिल्यै सरसल्लाह नगरी,कहिल्यै उनीहरुलाई राय दिने मौका नदिइ सुटुक्क मुलुकलाई धर्मनिरपेक्ष के जायज हो ? धर्मनिरपेक्ष हुनुपर्छ भन्ने हो भने जनमतसंग्रह गरौ । जनमतसंग्रहबाट आउने परिणाम बाहेक प्रजातान्त्रिक समाधान अरु हुँदैन । हामीले धारणा मात्रै राखेका छैनौ । हामी अभियान मात्रै गर्ने वाला छैनौ । हामी जनमतसंग्रहमा जान तयार छौ ।

– यसबारेमा प्रधानमन्त्रीसँग केहि कुरा भएको छ कि ?

हालसाल कुरा भएको छैन ।

– हिन्दु धर्मका बारेमा गरिने जनमतसंग्रहका बारेमा तपाईका मन्त्रीहरुले मन्त्रिपरिषदमा छलफल गरेका छन् ?

उनीहरुले पनि तुरुन्तै उठाएका छैनन होला । तर हाम्रो राय यस्तो छ भन्ने कुरा जगजायर नै छ । पहिलो अन्तरिम संविधान बनाउने वेलामा जव धर्मनिरपेक्ष संविधान प्रस्तुत गरियो, त्यतिवेला हाम्रो प्रमुख सचेतकले लिखित आपत्ति दर्ज गराएका छन । प्राय सबै पार्टीमा हिन्दुत्व हुनुपर्छ भन्ने तत्व देखिन्छ । काँग्रेसमा त्यो मत व्यापक छ । एमालेमा पनि छ । माओवादीमा कति छ थाहा छैन तर त्यहाँ पनि केहि होला जस्तो लाग्छ । यो धारणा नेपाली जनमानसको धारणा हो । त्यसकारण यसलाई अस्वीकार गर्न मिल्दैन ।

– हिन्दु धर्मको पक्षमा आन्दोलन त भएको छैन नी ?

मुभमेन्ट नै नभएको होइन । केहिले मुभमेन्ट पनि गरेका छन । पानी पनि धेरैतिरबाट आएपछि मात्रै भल फुटछ । नेपालमा हिन्दु धर्मका लागि भलफुटने वेला आउन लागेको छ ।

– मान्छेहरुले तपाईलाई स्वर्गीय राजा विरन्द्रसँग तुलना गरेर तपाईको बौद्धिकताको चर्चा गर्छन । नेपालले आफनो साझा विदेश नीति बनाउन नसक्नुको कारण के होला ?

मैले आफूलाई कहिल्यै पनि राजा विरेन्द्रसँग तुलना गरेको छैन । नेपाल ठूलो परिवर्तनको माझमा छ । हिन्दुस्तानबाट नेपालमा नाकावन्दी लगाएको चार पाँच महिनापछि नेपालको भुराजनीति र भु अर्थनीतिमा केहि नयाँ तरंगहरु उत्पन्न हुन थालेका छन । यी तरंगहरु नयाँ मात्रै होइन,साविक भन्दा विल्कुलै फरक छन । कुटनीतिमा आएका तरंगहरुले पूर्ण र परिपक्व स्वरुप ग्रहण गरेको छैन ।

परिवर्तन शुरु भएको छ तर यो परिवर्तन कहाँसम्म जान्छ भनेर भन्न नसकिने अवस्था छ । यस्तो महत्वपूर्ण परिवर्तनको वेला नेपालले आफनो परराष्ट नीतिलाई पनि त्यो परिवर्तनको प्रक्रिया कसरी जान्छ भनेर सुक्ष्म रुपले नियालेर हेर्नुपर्छ । आफनो नीति पनि त्यो परिवर्तनको प्रक्रियासित लचिलो हुने किसिमले बिश्लेषण गर्दै जानुपर्छ । किनभने त्यसले पूर्ण रुप धारण गरेको छैन ।

यो परिवर्तन अत्यन्त महत्वपूर्ण छ । यस परिवर्तनको हाँकलाई सामना गर्न सक्ने किसिमबाट परराष्ट नीतिको निर्माताले आफूलाई प्रदर्शन गर्नु पर्ने अवस्था छ । अथवा यो परिस्थितिले पैदा गरेको जटिलता र गतिशिलता भित्र उचित परिपक्व सन्तुलन खोज्नु नै अहिलेको नेपालको परराष्ट नीतिको प्रमुख काम हो ।

इतिहास पल्टाएर हेरयौ भने यस्तो बदलावको वेला आएको हुन्छ । यस्तो बदलावका वेला ठूला ठूला मान्छे पनि जन्मिएका छन । पृथ्वीनारायण शाहले एउटा हाँकको सामना गरे । जंगबहादुर राणाले अर्को हाँकको सामना गरे । एउटा स्थिर परराष्ट कुटनीति भित्र पनि चन्द्र शम्सेरले नेपालको सार्वभौमसत्तालाई स्थापित गर्न ठूलो भूमिका निर्वाह गरे । महेन्द्रविरविक्रम शाहदेवले पनि त्यस्तै काम गरेको पाइन्छ । अहिले त्यस्तो अप्ठयारो दिशातर्फ नेपाल गुडेको हुन सक्छ । अहिलेको राजनीतिका अगाडि यो हाँकको सामना गर्न सक्छ कि सक्दैन भन्ने ठूलो एउटा प्रश्न आएको छ ।

– नेपालमा नाकावन्दी पछाडि बनेको सरकार चीनतिर र अहिलेको सरकार भारततिर ढल्केको बिश्लेषण गरिदैछ । यस्तो स्थिति किन हुन गयो ? यो परिस्थिति कसरी जन्मियो ?

म त्यो बिश्लेषणसँग म सहमत छैन । नेपालको राजनीतिमा जुन फेरबदल नेपालको राजनीतिमा आएको छ,त्यो फेरबदल परिपक्व स्वरुप ग्रहण नगरिसकेको अवस्था छ । यो यता भयो,यो उतै भयो भनेर भन्न थाल्यौ भने घटनाक्रम भन्दा अलिक अगाडि बढेर बिश्लेषण गरेका हुन्छौ । घटनाक्रमलाई आफै परिपक्व हुन दिनुपर्छ । यो हुन्छ भनेर अगाडि नै बिश्लेषण गर्नु हुँदैन ।

– हाम्रा प्रधानमन्त्रीले गरेको भारत भ्रमणका क्रममा जारी गरेको संयुक्त बिज्ञप्तिमा समान धारणा र सहकार्य भनिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँग लडन अन्तराष्टिय समुदायमा पहल गर्छु भन्नु भएको छ । भारत पाकिस्तान लडाई नै भएको अवस्थामा नेपाल कता उभिने हो ?

संयुक्त बिज्ञप्तिले अन्तराष्टिय फोरमहरु हिन्दुस्तान र नेपालले सहकार्य गर्नेछ भनेको छ । संयुक्त राष्टसंघ,बिश्वबैंक वा मानवअधिकार उच्चायोग जेनेभामा गर्ने हुन सक्छ । यस्ता कुरा हिन्दुस्तानसँग गरियो भनेर चीनसँग गर्न नसकिने छैन । हामी सहकार्य हिन्दुस्तानसँग पनि गर्न सक्छौ । चीनसँग पनि गर्न सक्छौ । आवश्यक परे अमेरिकासँग पनि गर्न सक्छौ । पूराना संयुक्त बिज्ञप्ति पल्टाउनुभयो भने सबै जसोमा देख्नुहुन्छ ।

-नेपाल भारत र चीनको वीचमा त्रिदेशीय समझदारी संभव देख्नुहुन्छ ?

हामी एउटा ठूलो अदलबदलको शुरुवात भएको देखिरहेका छौ । त्यो अदलबदलले के स्वरुप लिन्छ भनेर अहिले भन्न सकिन्न । हाम्रो प्रयत्न त्यो दिशामा समेत होला । हामीले खोज्नु पर्ने उचित सन्तुलन हो । त्यो उचित सन्तुलन कहाँनेर खोज्न सक्छौ । त्यो दुई वटा कुरामा निर्भर गर्छ । हामी आफै परराष्ट नीति निर्माण गर्न कति सफल हुन्छौ ? हामी अरु देशसित आफनो कुरा राख्न कति सफल हुन्छौ ? यो दुईटा कुराले प्राय ठेगान गर्छ । अरु देशले त आफनो स्वार्थ हेर्ला नी । हामीले हाम्रो राष्टिय हित कायम राख्न कति सामथ्र्य राख्छौ ? त्यसमा निर्भर गर्छ । जुन वेला पृथ्वीनारायण शाह जन्मिए,जुनवेला जंगबहादुर जन्मिए,त्यतिवेला जे गर्न सकिएको थियो,त्यो गर्ने क्षमता अहिलेको नेपालले देखाउँछ कि देखाउँदैन ?

– त्यस्ता केहि साझा धारणाहरु पाउनु हुन्छ ?

भर्खर उत्पन्न भएको छ । यो बिषय छलफलमा जानु पर्छ । काँग्रेस,एमाले र माओवादीले यसबारेमा सोच्नुपर्छ । यस बारेमा साझा धारणा बनाउनुपर्छ । यस्तो वेला मुलुकको साझा धारणा बनाउनुपर्छ ।

– नेपाल र भारतको सम्बन्धका बारेमा सधै आशंका रहने गर्छ । तपाईको ज्ञान र अनुभवका आधारमा नेपाल भारतको सम्बन्ध सुमधुर बनाउने उपाय के हुन सक्छ ?

नेपालका अधिकाँश मानिस लघुताभासबाट पीडित हुन्छन । हामी हिन्दुस्तानसित वार्ता गर्न जाँदा हाम्रो हात तलपर्छ भन्ने मानसिकता छ । मेलै त हिन्दुस्तानसित धेरै सन्धी गरेको छु । महाकाली सन्धी पनि मैले गरेको हो । नेपालको इतिहासमा पहिलो पटक समानताका आधारमा भएको सन्धी हो । आत्मबिश्वास र इमान्दारिताका साथ हिन्दुस्तानसित आफनो कुरा राख्ने,उनीहरुसित सही ढंगले वार्ता गर्ने हो भने के ठूलो चिन्ताको बिषय हुन्छ र ? उनीहरु पनि मान्छे हुन हामी पनि मान्छे हौ । हामीसँग पनि बुद्धि छ,उनीहरुसँग पनि बुद्धि छ । दुवैतिरबाट बुद्धि खियाऔ । हिन्दुस्तानसित चिन्तित हुनु पर्ने केहि पनि छैन । यो सबै लघुताभासको उपज मात्रै हो ।

– यस्तै अवस्था चीनतिर पनि छ नी के भन्नुहुन्छ ?

राष्टवादी हुने त चीनतिर वा भारत तिर ढल्केर होइन होला नी । नेपालतिर ढल्केर राष्टवादी हुने होला नी ।

– चीनसितको सन्दर्भमा हामीले गर्नु पर्ने के हुन्छ ?

चीन संसारको दोस्रो ठूलो आर्थिक शक्ति राष्ट हो । हिन्दुस्तानसित लघुताभास लिने प्रबृत्तिले चीनसित झन लघुताभासको महसुस गर्ला । चीनसित वा भारतसित डिल गर्दा आफनो प्रष्ट राष्टहितको दृष्टिकोण हुनुपर्छ । दुइ वटा ठूला मुलुकको वीचमा रहेको नेपाललाई दुइटै ठूला स्वार्थलाई कुटनीतिक खेल गरेर नेपालको हितमा अगाडि बढाउनुपर्छ । त्यो प्रेरणा हामीले पृथ्वीनारायण शाह,जंगबहादुर र चन्द्र शम्सेरबाट लिन सक्छौ । त्यो वेलाको इतिहास केलाएर पढौ न । अहिले उहाँहरु सरहको मान्छे नेपालमा छैन । त्यो मान्छे नभएपछि त्यो वेलाको इतिहास अध्ययन गरी सिकेर प्रेरणा लिएर अगाडि बढनुपर्छ ।

– चीनले अगाडि सारेको वान वेल्ट वान रोडको अवधारणा कस्तो हो ? त्यसमा हामी सक्रिय सहभागी हुनु पर्ने हो वा होइन ?

सन २०२० सिगात्सेबाट रसुवागढी रेल आउँछ आउँछ । त्यसमा कुनै सन्देह छैन । रसुवागढीसम्म आउने त चीनको भूमिमै रेल मार्ग बनाउने हो । हिन्दुस्तानले काठमाडौसम्म रेल ल्याउँछ कि ? चीनले त्यहाँबाट काठमाडौसम्म ल्याउँछ कि ? हामीलाई के आपत्ति छ र ?

– नेपालमा पश्चिमा राष्टहरुको उपस्थितिमा भारत र चीनले सरोकार राखे जस्तो लाग्छ तपाईलाई चाहि कस्तो लाग्छ ?

संसार भुमण्डलीकरण भएको छ । कस्तो उपस्थिति कहाँ भएको छ भन्ने कुरा रोकतोक गर्न गाह्रो छ । चाहना के होला आफनै ठाउँमा छ तर क्षमता अनुसार भुमण्डलीकरण भएको छ ।