असोज र कात्तिक महिना नेपाली हिन्दुह रूका लागि महत्वपूर्ण समय हो । यसबेला  दसैं, तिहार, छठ जस्ता ठूला चाडपर्वह रू पर्दछन् । यी चाडपर्वले मानिस र समाजलाई एकीकरण गर्ने काम गर्दछन् । किसानको खेतिपाती थन्क्याउने र जागिरेले जागिरबाट फुर्सद पाउने भएकाले यो समयको रसमाधुर्य अझ बढ्छ । वषौंदेखि टाढा रहेका परिवारका सदस्य तथा आफन्तसँग भेटघाट हुने हुँदा यी चाडपर्व झन् महत्वपूर्ण बनेका छन् । यी सबै चाडपर्वका आआफ्नै किसिमका धार्मिक, सांस्कृतिक र सामाजिक विशेषता छन् ।  दसैं तिहार र छठसित आर्थिक पक्षको धेरै नजिकको सम्बन्ध हुन्छ । त्यसैगरि यी पर्वमा मनोरञ्जनात्मक पक्ष पनि गाँसिएको छ । एकातिर खर्च व्यवस्थापन अर्को तिर मनोरञ्जन  यी दुवैको समिश्रणले नै यी चाडह रू नेपाली हिन्दूह रूकालागि विशेष चाड बन्न पुगेका हुन् । जस्तै गरिबले पनि दुःखसुख यी पर्वलाई हाँसीखुसी मनाउने प्रयास गर्ने हुँदा यिनलाई राष्ट्रियस्तरका सांस्कृतिक–सामाजिक घट्ना मानिंदै आएको हो ।

यी चाडहरूले मनोरञ्जन दिन्छन् तर समाजको कुन हिस्सा यस्तो मनोरञ्जनको बढी हकदार बन्छ ? चाडबाडको मनोरञ्जनात्मक पक्षलाई जोड दिइरहँदा महिलाले यसलाई कसरी आत्मसात गर्न पाएका हुन्छन् ? यस्ता प्रश्न अनावश्यक झै लाग्न सक्छन् तर गहिरिएर हेर्दा यसको जवाफ महिलामैत्री हुँदैन । जुनसुकै चाडवाड हुन् ती प्रत्यक्ष  रूपले महिलाको ढाड दुखाइसँग प्रत्यक्ष जोडिन्छन् । चाडवाड आयो कि महिलाको जिम्मेवारी दोब्बर बढ्यो । चाडवाड र रितिरिवाजलाई नेपाली महिलाले धानेका छन् भन्ने कुरामा दुई मत वा विमति हुन सक्दैन । अझ स्पष्ट  रूपले, संस्कृति धान्ने जिम्मेवारी महिला कै काँधमा छ भन्दा अन्यथा हुँदैन । घरभित्र वा घरबाहिर दुवैतिर उनीहरू व्यस्त रहन्छन् । थोरै पैसामा कसरी किफायत गर्ने र परिवारलाई कसरी रमाइलो वातावरण प्रदान गर्ने यी दुवै विषयमा उनीह रूको सुझबुझ रहन्छ र यसलाई सफलतापूर्वक व्यवस्थापन पनि गर्दछन् ।

यसरी परिवारलाई रमणीय वातावरण बनाइरँहदा के उनीहरू पनि रमाउन पाएका हुन्छन् ? यो कोणबाट सोच्नेहरू हाम्रो समाजमा विरलै फेला पर्लान् । अवश्य पनि महिला परिवारभित्र खुशी दिने र खुशी बाँड्ने कोटीमा पर्छन् । उनीहरू आफूले लिने र पाउने भन्दा पनि अरुलाई दिने कुरामा ध्यानकेन्द्रित गर्छन्, तर परिवारमा सुख, खुशी र रमाइलो वातावरण हरेक सदस्यलाई बराबरी भागमा पर्‍यो भने त्यो झन सुन्दर पक्ष हो । तर पितृप्रधान समाजले यो पक्षतिर हेरेको पाइन्न । घरका अन्य  पुरुष सदस्यले नै पनि छोरी र बुहारीका व्यस्ततालाई बुझेर उनीहरूको दुःखलाई सजिलो बनाउने प्रयास गरेको भए कुनै पनि राष्ट्रिय चाड र त्यसबाट पाइने खुसियालीको मात्रा दोब्बर हुन्थ्यो ।

दसैं–तिहारमा हाम्रो समाजमा प्रायः यस्तो दृश्य देखिन्छ – पुरुषहरूले आर्थिक जोहो गर्ने, खसी–बोका किन्ने, काट्ने र कसै कसैले घर सजावटमा मद्दत गर्ने । महिलाले घरको सरसफाइ गर्ने, खाना तयार पार्ने र खुवाउने । यस्तै आजकलका सीप भएका र पढेलेखेका महिलाहरूले खर्च पनि जुटाउँछन्, घर सफा गर्ने, लुगाकपडा किन्ने, मरमसला किन्ने, खाना पकाउने–खुवाउने र त्यसपछिको जटिल काम भान्साको सफाइ र भाँडा माझ्ने । चाडवाडमा सँधै भन्दा धेरै मानिसहरू घरमा हुन्छन् । यसले सिधै भान्साको काम थपिन्छ । धेरै परिकार पकाउने, खुवाउने गर्दा समय बढी लाग्छ । त्यस्तै खाना खाएपछि धेरै भाँडा माझ्नु पर्दा उनीहरूको सबै समय त भान्सामै बित्छ । अनि रमाइलो गर्ने समय खोइ ! पुरुषको हकमा अर्कै परिदृश्य हुन्छ । प्राय सबै चाडवाडमा पुरुषहरू मोजमस्तीमा रहेका हुन्छन् । यो सोचनीय पक्ष हो । यस्तो असन्तुलनलाई सन्तुलित बनाएमा महिलाको पनि खुशी बढाउन सकिन्छ ।

अझै पनि हाम्रो समाजमा चाडवाडको बेलामा रमाइलो वातावरणलाई सन्तुलित किसिमले व्यवस्थापन गर्न ध्यान दिएको पाइँदैन । महिला र पुरुषवीच समानता ल्याउन अनेक अभियानहरू थालिए, तर संरचनागत  रूपमा चलिआएका असमान व्यवहारलाई हटाउने प्रयास भएनन् । पुरुषहरू तास खेल्ने वा अन्य किसिमका रमाइला खेलहरूमा रमाइरहँदा उनीहरूका निम्ति खाजा–खानाको तयारी र खेल्ने ठाउँसम्म पस्केर पुर्‍याउने काम महिलाहरूले गरिरहेका छन् । यसरी रमाइलो गर्ने मौकामा महिला वञ्चित हुन पुग्छन् । त्यसैगरि जूठा भाँडाको सरसफाइमा पनि अधिकांश समय खर्च हुन्छ ।

चाडवाडमा महिलाले एकतर्फी  रूपमा बेहोर्नु परेको दुःखको एकमात्र कारण हो –पितृसत्ता । यसको सोझो साइनो राजनीतिसँग जोडिएको छ । समाज र राजनीतिको शक्ति संरचनामा अमिल्दो अवस्था रहेसम्म यो विसंगति निरन्तर रहिरहन्छ । वास्तवमा भन्ने हो भने चाडवाडबाहेक अघिपछि पनि महिलाहरूले तुलनात्मक  रूपमै बढी काम गर्ने गर्दछन् । विश्वको हालै उपलब्ध तथ्यांकअनुसार  दक्षिण एसियाका महिलाले धेरै काम गर्दछन् । अझ नेपालका महिलाहरू चैबिस घण्टामा औसत १७ घण्टा काम गर्छन् । जबकि पुरुषहरू यसको आधा समयमात्र काम गर्छन् । यति धेरै कार्य व्यस्तता हुँदा पनि समाजमा महिलाको कामको मूल्यांकन हुन सकेको छैन । उनीहरूले गर्ने श्रम राष्ट्रिय उत्पादनमा गनिदैन ।

यति हुँदाहुँदै पनि हाम्रो अगाडि आइरहेका चाडवाडलाई महिलामैत्री बनाउन केही सामान्य विषयमा ध्यान दिन सकेमा केही मात्रामा सुधार ल्याउन सकिन्छ । महिलाका कामलाई सहज गर्न र उनीहरूको समय बचाउन ‘यूज एण्ड थ्रो’ किसिमका भाँडाहरू प्रयोग गर्न सकिन्छ । त्यस्ता भाँडाहरूमा रेडिमेड दुना–बोता–टपरी, कागज तथा प्लास्टिकका भाँडाहरू प्रयोग गर्न सकिन्छ । यसले एकातिर महिलाका कामको बोझमा कमी ल्याउन सकिन्छ र उनीहरू पनि चाडवाडमा रमाउने वातावरण बन्छ भने अर्को तिर हाम्रा घरेलु उद्योगलाई पनि टेवा पुग्छ । यस्ता ठूला चाडवाडमा यदी हामी हजारौं, लाखौं  रूपियाँ खर्च गरेर खाना र मनोरञ्जनका लागि छुट्ट्याउन सक्छौं भने त्यहीँ अलिकति खर्च छुट्ट्याएर महिलाका मनोरञ्जनका लागि पनि सोच्न सक्छौं । महिला र पुरुषवीच असमानता जारी रहनु  विडम्बना हो । न्यायपूर्ण र उन्नत समाजमा यस्तो रहनु ठूलै कलंक हो । तसर्थ अब हामीले आफ्नै घरबाट महिलाका कार्यबोझलाई सघाउने र सरलीकरण गर्ने उपायहरू अवलम्बन गर्न सक्नुपर्छ । झन् यस्ता चाडपर्वमा घरका सम्पूर्ण सदस्यहरूलाई मनोरञ्जन प्रदान गर्ने सोच राखिन्छ भने यस्ता विषयहरू देख्दा जति साना भए पनि निकै महत्वपूर्ण हुन् । हामीले यतिमात्र ध्यान पुर्‍याउन सकेमा पनि चाडवाडको रौनक बढ्छ र अविकसित समाजको चरित्र र विसंगति पनि धेरै कम हुन्छ ।