काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ । घण्टौँसम्म इन्टरनेट सेवा अवरुद्ध भएर मर्मत गर्न नआउँदा सेवाग्राही ठूलो मर्कामा परेका छन् ।

नेपालमा लामो समयदेखि उच्च स्तरिय सेवा दिन्छु भनी दावी गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकको चरम लापरवाहीका कारण सेवाग्राहीहरु ठूलो मर्कामा परेका छन् । बेलाबेलामा उक्तसंस्थाको इन्टरनेट सेवा अवरुद्धका कारण दैनिक जसो इन्टरनेटबाट सेवा दिने संघसंस्थाहरू धेरै मर्कामा पर्ने गरेका सर्वसाधारणको गुनासो रहेको छ ।

बैंक, न्युज पोर्टल, साइबर, जस्ता संस्थाहरुमा १० मिनेट पनि इन्टेरननेट सेवा अवरुद्ध भएमा धेरै नोक्सान हुने गर्दछ । यस्ता समस्या बारेमा वल्र्ड लिंकलाई जानकारी गराउँदा बहानाबाजी गर्ने गरेको सेवाग्राही बताउने गर्छन् । एक ठाउँमा फोन गर्दा अर्काे ठाउँमा फोन गर्नु भनेर नम्बर घुमाउने गरेको उनीहरुको गुनासो रहेको छ ।

सेवा दिनुभन्दा अगाडि अनेक स्किम छ भनेर प्रलोभनमा पार्ने सेवा लिई सकेपछि वास्ता नगर्ने वर्ल्ड लिंकको पुरानै बानी रहेको एक सेवाग्राहीले बताए । त्यस्तै इन्टरनेटमा खराबी आएर उजुरी गर्दा ‘यो अर्कै एरिया हो, अर्काे ठाउँमा फोन गर्नु, आज पानी परेको छ हाम्रो अपरेटर आउन सक्दैन, गाडीमा तेल छैन’ जस्ता गैर जिम्वारीपूर्ण जवाफ दिने गरेको एक आइटी कम्पनीका सिओले बताए ।

‘नेटसेवा चौबिसै घण्टाको लागि लिएको हो, त्यो समयभित्र कुनै पनि समस्या पर्दा उनहरुले आएर समस्याको समाधान गर्नु पर्ने हुन्छ,’ उनले भने  ‘तर, समस्या परेर जानकारी गराउँदा गराउँदा आफ्नै मोबाइलमा रिचार्जको बिल बढी आउँछ ।’

त्यस्तै, यहाँ त ठिकै चलिरहेको छ, त्यहीँ खराबी भएर  होला, कोडमा समस्या भए होला, तार निकालेर पुन हाल्नु, पावर छैन होला जस्तो फाल्तु जगाफ दिने गरेको अर्का एक सेवाग्राहीको गुनासो छ ।  उनले भने ‘समस्या हेर्न भनेर आएको व्यक्तिले पनि एउटा समस्या भएको ठाउँमा अर्काे  पनि समस्या छ । त्यो भएन् यो भएन भनेर ठग्ने गरेको छ वल्र्ड लिंकले ।’

त्यस्तै, समस्या परेर फोन गर्दा अफिसको समयमा पनि अनेक बहाना बनाइ आलटाल गर्ने गरेको जन गुनासो रहेको छ । बेलाबेलामा कनेक्सन लस्ट भइरहने वल्र्ड लिंकको इन्टरनेट सेवा बारे जानकारी गराउँदा ‘हुन्छ’ भन्ने आस्वास दिने तर समयमा समाधान गर्न  नआउने गरेको सर्वसाधारणले बताउँछन् ।

‘एकछिन पछि आफै फोन गर्छ भनेर भन्छन् तर कहिलै फोन गर्दैनन्,’ अर्का सेवागाह्री आइटी कम्पनीका संचालकले भने ’राउटर आफ गर्नुहोस्, पावर अफ गरेर पुनः अन गर्नुहोस् । अनि आफै ठीक हुन्छ ।’