मलाई नव वर्षको शुभकामना चाहिंदैन

किनकी म श्रम र पसिनामा विश्वास गर्ने मान्छे,

कसैको शुभकामना र शुभेच्छाका शव्दले

कसैको साँझ–बिहानको छाक टर्दैन

त्यसैले मलाई

नयाँ वर्षको शुभकामना चाहिंदैन ।

सक्छौ भने बेराजगारीको भूमरीमा

जिउन बाध्य

आम नेपालीलाई रोजगारीको ग्यारेन्टी देऊ

अकालमा मृत्युवरण गर्न बाध्य आम नेपालीलाई ओखती देऊ ।

मलाई तिम्रो आडम्बरी चाहिएको छैन,

दयाको भिख माग्ने पनि म होईन

म त केवल आफ्नैं श्रम र पसिनामा रमाउने एक आम नेपाली हुँ म कसैको आशिर्वाद होइन,

अधिकार खोजिरहने श्रमजीवी नेपाली हुँ

त्यसैले मलाई शुभकामनाका फोस्रा दुई शव्द चाहिँदैन ।

भो मलाई चाहिएन तिम्रा

शुख, शान्ति र समृद्धिका

शुभकामना

मलाई तिम्रो मुर्दाशान्ति र श्रम

बिनाको शुख चाहिएन

श्रम र पसिनामा सिर्जित समृद्धि

मात्र मलाई स्वीकार्य छ

म नयाँ वर्षको विरोधी होइन

ख्याल गर,

म पनि तिमी जस्तै

नयाँ युग र नयाँ समयको पक्षमा छु

तर

म कसैको आशिर्वाद र

शुभकामनाको भोको छैन

त्यसैले मलाई

नयाँ वर्षको शुभकामनाको सन्देश चाहिंदैन ।