होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।

पछिल्लो समय पाकिस्तान, बङ्गलादेश, भुटान, बेलायत, दक्षिण अफ्रिका, अमेरिका लगायतका देशहरुमा पनि होली मान्न थालिएको छ । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ ।

होलीलाई रङ्गहरूको चाड पनि भन्ने गरिन्छ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । त्यस्तै होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गर्ने प्रचलन रहिआएको छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि छ्याछ्याप गर्ने चलन छ ।

साना साना नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा लिन्छन् । युवायुवतीहरू गीत गाउँदै, नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक, अर्कासँग मिल्छन् । फाल्गुणको महिनामा मनाउने यसलाई पर्वलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाई आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका खुशी साट्दै मनाउने गर्दछन् ।

होलीलाई हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी मनमुटावलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एक जना राक्षसको जन्म भएको थियो । हिराण्यकशिपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए ।हिराण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लाद भगवान विष्णुलाई भज्ने गरेको हिराण्यकशिपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजना अनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका(जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी शेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाई छ ।

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहास विद्हरुका अनुसार, यस पर्वको प्रचलन आर्यहरूबाट भएको थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । भारतमा पर्ने विंध्यक्षेत्रको राम गढ भन्ने स्थानमा स्थित ईसा भन्दा ३ सय वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।

प्रत्येक वर्ष काठमाडौंको वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएसँगै फागु पर्व सुरु हुन्छ । हनुमानढोका दरवारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुने गर्दछ ।

भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आइतबार बिहान विशेष पूजा गरी ठड्याइने गरिन्छ । रङ्गीचङ्गी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठडाइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकापसमा अविर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ । सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गरिन्छ । त्यसै अवसरमा हनुमानढोका दरवार परिसर तथा हनुमानढोका दरवारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगीविरंगी कपडाका टुक्राहरु झुन्ड्याईएको मयलको रुखको हाँगा गाढेर पूजा पनि गरिने चलन छ । साथै, मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्नमुद्राका गोपीका मूर्तिहरु सजाई अविर छर्केर पूजा गरिँदै आइएको छ ।