काठमाडौं। बंगलादेश पेट्रोलियम कर्पोरेसन (बीपीसी) ले ग्यासबाहेक नेपाललाई अन्य इन्धन उपलब्ध गराउन सैद्धान्तिक रूपमा तयार भएको छ।
नेपाल आयल निगमको टोलीलाई बीपीसीले इन्धन उपलब्ध गराउने आश्वासन दिएको हो। निगमका प्रवक्ता मुकुन्द घिमिरेले एलपीजी ग्यास बंगलादेशमा आपूर्ति नहुने भएकाले त्यसबाहेक पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन चाहिएको परिमाणमा उपलब्ध गराउन बीपीसी तयार रहेको जानकारी दिए।
‘बीपीसी सकारात्मक भएको छ। उनीहरूले चाहेको परिमाणमा ग्यासबाहेक अन्य इन्धन दिन तयार छ’, प्रवक्ता घिमिरेले बिहीबार अन्नपूर्णसँग भने। उनका अनुसार यसका लागि बीपीसीले पहिले नेपाल र बंगलादेश सरकारबीच इन्धन खरिदका लागि सहमति गर्नुपर्ने र त्यसपछि नेपाल आयल निगम तथा बीपीसीबीच द्विपक्षीय व्यापार सम्झौता गर्नुपर्ने सुझाव दिएको छ।
बंगलादेशबाट इन्धन आपूर्तिका लागि आवश्यक अध्ययनका लागि घिमिरेसहितको टोली केही दिनअघि बंगलादेश गएको थियो। उक्त टोली बिहीबार नेपाल फर्केको छ।