विराटनगर : संघीय लिम्बुवान पार्टी पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले लिम्बुवानका जिल्ला टुक्राइएमा आफूहरु चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
लिम्बुवानका तीन जिल्ला झापा, मोरङ र सुनसरीलाई लिम्बुवान प्रदेशबाट अलग गर्न नहुने बताउँदै उनले लिम्बुवानका सबै जिल्ला अहिलेकै संरचनामा यथावत हुनुपर्ने लिङ्देनले बताए ।
लिम्बुवान राज्यको सुनिश्चिता त्यसको प्रमुख अंग भन्दै आएको पार्टीले विहीबारै मोरङको शिशवनी बडहरामा क्षेत्रिय भेला गरी कुनै पनि जिल्ला यताउता गर्न नहुने अडान राखेको छ ।
‘हामी लिम्बुवान राज्यका नौ जिल्ला यता वा उता भएमा चुप लागेर बस्दैनौं’, पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले सभामा भने, ‘अरुणपूर्वका नौ जिल्ला लिम्बुवान राज्य हुनुपर्छ ।’
लिङ्देनले संघीयता कार्यान्वयन र लिम्बुवाज प्राप्ती आफूहरुको प्रमुख मुद्दा भएको पनि लिङ्देनले बताए ।
थारुहट–थारुवान संघर्ष समितिको अलग प्रस्ताव 
थारुहट–थारुवान संघर्ष समिति मोरङ–सुनसरीले भने थारुहरुका माग सम्बोधन गर्न मोरङ–सुनसरीलाई टुक्राउन नमिल्ने बरु झापा, सप्तरी, सिराह र उदयपुरलाई मिलाएर नयाँ प्रदेश बनाईनु पर्ने प्रस्ताव गरेको छ ।
‘मधेसका माग सम्बोधन गर्ने बहानामा थारु बाहुल्य क्षेत्र टुक्राए हामी चुप लागेर बस्दैनौं’, समितिका केन्द्रीय प्रवक्ता अमनलाल मोदीले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर भने, ‘बरु पाँच जिल्ला मिलाएर छुट्टै प्रदेश निर्माण गर्नुपर्छ भन्ने हाम्रो अडान छ ।’
उनले यो प्रदेश सबैलाई मान्य हुने दाबी पनि गरे । जिल्ला टुक्र्याए आन्दोलन गष्रिने उनले चेतावनी दिए । एमाओवादीले भने झापा, मोरङ र सुनसरी कोचिला प्रदेश हुनुपर्ने आफ्नो माग यथावत रहेको जनाएको छ ।
यता, संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले झापा, मोरङ र सुनसरीसमेत मधेश प्रदेशको अंग भएकोले यीनलाई पहाडसँगको प्रदेशमा राख्न नहुने बताए ।
‘हामी हाम्रो अडान भन्दा एक इञ्च पनि पछि सर्दैनौं’, उनले भने, ‘तीन जिल्ला मधेस प्रदेशमै कायम हुनुपर्छ ।’