भैरहवामा झण्डै तिनमहिनादेखि निरन्तर लाग्दै आएको निषेधाज्ञा तिहार एवं छठ पर्वलाई लक्षित गर्दै खुकुलो बनाईएकोमा बिहीबारदेखि फेरि लगाइएको छ।

गत भदौ ३ गते मधेशी मोर्चा र स्थानीयवाशीबीच बेलहियामा भएको झडपपछि लगाएको कर्फ्यु हटाइएपछि ५ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

हिन्दु नेपालीहरुका महत्वपूर्ण चाडहरु तिहार र छठ पर्वलाई भन्दै कार्तिक २५ गते लक्ष्मीपूजाको दिनदेखि खुकुलो बनाईएको निषेधाज्ञा फेरि जारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले भैरहवा आसपासको क्षेत्रमा हुनसक्ने अराजक गतिविधी रोक्न भन्दै बिहीबार बिहानदेखि आगामी बुधवार साँझ ६ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

प्रहरी प्रवक्ता कार्कीले आन्दोलनको नाममा अनियन्त्रित व्यक्ति वा समुहले हिंसात्मक कार्य गरि निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड गरी अशान्ति मच्चाउनसक्ने भन्दै निषेधाज्ञा लगाइएको बताए।

मधेशी मोर्चाका कार्यकर्ताहरुले बुधवार मात्रै तेल तस्करीमा संलग्न भएको भन्दै भैरहवा लुम्बिनी सडक खण्डको सुण्डी नजीकै ना.३ख ६६८८ नं. को टिप्परमा आगजनी गरेका थिए।

भैरहवादेखि पूर्वमा बसन्तपुर गाविसको वाईपास सडक, पश्चिममा गौतमबुद्ध विमानस्थल अगाडी मायादेवी चोक, उत्तरमा नेपाल विद्युत प्राधिकरणको कार्यालय र दक्षिणमा बेलहिया भन्सार कार्यालय अगाडीको मुल ढाट र सो क्षेत्रका राजमार्गको दायांवायां तिनसय मिटर क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको हो।

निषेधित क्षेत्रमा कुनैपनि सभा सम्मेलन, नारा जुलुस गर्न तथा ५ जना भन्दा बढि व्यक्ति एकै स्थानमा जम्मा हुन समेत निषेध गरिएको जिल्ला प्रशासनले जनाएको छ।

यता मङ्गलवार साँझदेखि मालबाहक गाडी आयातमा कडाई गरेको भारतीय पक्षले बिहीबार पनि नेपालतर्फ गाडी पठाउन कडाई गरेको छ।

ईलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बिहीबार दिउँसो २ बजेसम्म २ दर्जन मालबाहक ट्रक र एक दर्जन बस नेपाल प्रवेश गरे पनि ईन्धन बोकेका गाडी भने आएका छैनन्।

भारतीय सुरक्षाकर्मीले नेपालतर्फ आउन सिमाक्षेत्रमा लाईन लागेका गाडीहरुको चेकजाँचमा कडाई गरेपछि कम गाडी भित्रिएका हुन्।

तिहारपछि मङ्गलबार साँझसम्म ईन्धन सहित दैनिक २ सय भन्दा धेरै मालवाहक गाडी भित्रिएकोमा मङ्गलबार साँझदेखि नै माथिको आदेश भन्दै भारतीय प्रहरीले गाडी आयातमा कडाई गरेको हो।

अहिले बेलहिया नाका अवरुद्ध नभए पनि सुरक्षाकर्मीले एउटै गाडीलाई एकघण्टासम्म चेकजांचको बहानामा सिमामा रोक्ने गरेको छ।