काठमाडौं ।  नेपालका लागि आवश्यक पुरै इन्धन बिक्रि गर्न चीन तयार भएको छ । हालै चीन भ्रमणबाट फर्केका आपूर्तिमन्त्री गणेशमान पुनले आवश्यक परे पाइपलाइन समेत बनाउन चीन सरकार सहमत भएको वताएका हुन् ।

 

‘इन्धन ढुवानीबारे व्यापारिक सम्झैतापछि चीनले मागेजति इन्धन दिने आश्वासन दिएको छ । तर, समस्या यातायातको छ,’ अनौपचारिक चीन भ्रमणबाट मंगलबार फर्केका आपूर्तिमन्त्री पुनले भने, ‘समस्या समाधन गर्न पूर्वाधार र पाइपलाइन  निर्माणको प्रक्रिया अघि बढाउने छौं ।’

चीनबाट पेट्रिल, डिजेल, ग्यासलगायत सबै प्रकारको इन्धन आयात गरिने छ । आयात गर्दा केही कठिनाइ र चुनौती  भए पनि इन्धन भित्र्याइने मन्त्रालयको दाबी छ ।

मन्त्रालयका अनुसार व्यावसायिक रूपमा इन्धन ढुवानी प्रक्रिया मिलाउन मन्त्रालय र सरकारी टोली सम्भवत: शुक्रबार चीन प्रस्थान गर्ने मन्त्री पुनले बताए । ‘व्यावसायिक सम्झौताका लागि एउटा टिम छिट्टै जाने छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा भए टोली शुक्रबार जाने छ । त्यसका लागि गृहकार्य भइरहेको छ ।’  टोलीले नाका, मूल्य, परिमाणलगायत विषयमा सम्झौता गर्ने मन्त्रालयले जनाएको छ ।