काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग बुधबार निर्णायक वार्ता हुने बताएका छन्। छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मंगलबार साँझ काठमाडौको कमलपोखरी पुगेका प्रधानमन्त्री ओलीले मोर्चासँगको वार्तालाई निष्कर्षमा पुर्‍याउन आफू पाखुरा सुर्किने पक्षमा नरहेको बताए।

सञ्चारकर्मीहरुलाई अरु बेला भन्दा निकै संयमित प्रतिक्रिया दिएमा प्रधानमन्त्री ओलीले आफू जिद्दी र अहंकार नदेखाइ आत्मीय ढंगले कुरा गर्ने पक्षमा रहेको भन्दै मोर्चाका नेताहरुलाई पनि वार्तामा लचिलो रुपमा प्रस्तुत हुन आग्रह गरे।

उनले मोर्चाले गरेको आन्दोलनका कारण मधेशका जनताले नै सबैभन्दा बढी दुःख पाएको र त्यसप्रति आफू निकै दुःखी रहेको भन्दै दाजुभाइ दिदीवहिनीले आपसमा अहंकार देखाउनु कसैको पनि हितमा नरहेको बताए। उनले मुलुकको आन्तरिक समस्या आपसमा वार्ता गरेर नै सुल्झाउनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले प्रदेशको सीमांकन हेरफेरका विषयमा भने प्रतिक्रिया दिन मानेनन्। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको वार्तालाई परिणाममुखी बनाउन सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओली, प्रतिपक्षी नेपाली काँग्रेसका शीर्ष नेता र मोर्चाका नेताहरुसँग दुई दिन लगातार गोप्य रुपमा अनौपचारिक छलफल गरेका छन्।