एजेन्सी। अफगानिस्तानमा त्यहाँको सुरक्षाबलले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीको क्रममा कम्तीमा १७ व्यक्तिको मृत्यु भएको समाचार छ ।

अफगानिस्तानको गृह मन्त्रालयले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । देशका विभिन्न ठाउँमा भएका आतङ्ककारी आक्रमणमा पाँच सैनिकले पनि ज्यान गुमाएका गृह मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टासम्म जारी राखेको कारबाहीको ती आतङ्ककारी मारिएका मङ्गलबार प्रकाशित सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ)ले बादख्सान कान्दाहार उरुजगान हेरात हेलमान्ड प्रान्तमा जारी सो कारबाहीको क्रममा १७ जना सशस्त्र तालिवान आतङ्ककारीको मृत्यु हुनुको साथै तीन घाइते भएका छन् ।

त्यस कारबाहीका क्रममा अरु केही तालिवानलाई पनि सेनाले पक्राउ गरेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई मिलेको यो ठूलो सफलता भएको पनि अधिकारीहरूले जनाएका छन् ।

अफगानिस्तानमा गत जनवरीदेखि नेटोसँग आवद्ध प्राय सैनिक फर्किसकेका र बाँकी रहेका सैनिकले पनि तालिवानसँग युद्धभूमिमा गएर युद्ध नगर्ने निर्णय गरेका छन् ।

सोही कारण पनि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ । तर पछिल्लो समयमा अफगानिस्तानको सरकारले यो कारबाहीका लागि त्यहाँको प्रहरीलाई अघि सार्न थालेको छ ।

पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरूलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।

उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेको समाचारमा उल्लेख गरिएको छ ।