काठमाडौं। नेपाल आयल निगमले आज तीन लाख ३६ हजार लिटर पेट्रोलियम पदार्थ काठमाडौँ उपत्यकासहित नौवटा जिल्लामा वितरण गरेको छ। विभिन्न नाकाबाट भित्रिएका इन्धनलाई समानुपातिक प्रणालीका आधारमा वितरण गर्ने योजनाअनुसार सो परिमाणको इन्धन वितरण गरिएको हो।
आज वितरण गरिएको इन्धनमध्ये दुई लाख ९१ हजार लिटर डिजेल र ४५ हजार लिटर पेट्रोल रहेको छ। सो परिमाणमा होटल तथा कूटनीतिक नियोगलाई वितरण गरिएको इन्धन भने समावेश गरिएको छैन।
पछिल्लो दिनमा वीरगन्ज नाकाबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ आउने क्रम बढेको छ। कुल आयातको ७० प्रतिशतभन्दा बढी इन्धन सोही नाका भएर आउने गरेको थियो। अन्य नाकाबाट जति परिमाणका इन्धन आए पनि त्यसले मुलुकको कूल मागलाई सम्बोधन गर्न सक्दैन।
सामान्य अवस्थामा निगमको थानकोट डिपोले पाँच लाख ५० हजार लिटर डिजेल र तीन लाख ५० हजार लिटर पेट्रोल दैनिक विक्री गर्दै आएको थियो। तर पछिल्लो अवस्थामा इन्धन आयात नै कम भएपछि सो डिपोबाट आधा परिमाण पनि विक्री गर्न नसकिएको निगमका थानकोट डिपो प्रमुख रविन शर्माले जानकारी दिए।
सो डिपोले चीनबाट अनुदानमा ल्याइएको पेट्रोलसमेत गरी गत कात्तिक महिनामा दैनिक औसत दुई लाख २९ हजार लिटर डिजेल र ७० लिटर पेट्रोल विक्री गरेको थियो। गत कात्तिकमा ७२ लाख ७ सय २० लिटर डिजेल, ६८ लाख ५८ हजार पेट्रोल विक्री गरेको डिपो प्रमुख शर्माले बताए।
उनका अनुसार चीनले अनुदानमा दिएको १३ लाख लिटर पेट्रोलमध्ये यही मङ्सिर ४ गतेसम्म ल्याइसक्ने निगमको तयारी छ। हालसम्म सात लाख लिटर पेट्रोल ल्याइसकिएको र बाँकी रहेको छ लाख लिटर आयात गर्न बाँकी छ। रासस