काठमाडौं।  नेपाली काँग्रेसका नेता डा.प्रकाश शरण महतले प्रधानमन्त्रीको राष्ट्रका नाममा गरेको सम्बोधन भावनात्मक रहेको बताएका छन्।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले आम नेपालीले प्रधानमन्त्रीबाट वर्तमानमा भोगेको राष्ट्रिय समस्याको सम्बोधन चाहेकोमा भावानात्मक र कल्पनाका दिर्घकालिन योजना सम्बोधनमा आउनुले प्रधानमन्त्रीको सम्बोधन केटाकेटीपन भएको बताए।
नेपाली काँग्रेस प्रतिपक्षमा बसेपनि भुकम्प पिडितका लागि पुनर्निर्माण, संविधान कार्यान्वयन, भारतले लगाएको अघोषित नाकाबन्दीलाई सहजीकरण गर्ने र तराई आन्दोलनका जायज मागलाई सम्बोधन गर्ने सवालमा काँग्रेसले प्रतिपक्ष नभएर सरकारालाई सहयोग गर्ने उनले बताए।
पुनर्निर्माण प्राधिकरणको सवालमा एमालेले दोहोरो चरित्र प्रदर्शन गर्नु र नियुक्त भएका पदमा समेत आफ्नो पार्टीको कार्यकर्ता भर्ती केन्द्र बनाउन खोजेको भन्दै महतले यसअघि भएका सम्झौतालाई कार्यान्वयनमा ल्याउन अथवा स्वच्छ प्रतिस्पर्धाबाट चयन गरेर प्राधिकरणलाई तत्काल लागू गर्नु माग गरे।
भारतले गरेको नाकाबन्दी खुलाउने भन्दा पनि गफको खेतीमा सरकार लाग्नु र मधेश केन्द्रित दलहरुका जायज माग सम्बोधन गर्न नसक्दा समस्या झन् झ्न जटिल भएको भन्दै काँग्रेसले संविधान संशोधनको प्रस्ताव तत्काल अगाडि बढाए तराई आन्दोलन मत्थर हुने उनको दाबी छ।
भारतीय नाकाबन्दी दुवै देशका लागि हितकर नभएको भन्दै नेता महतले भने, ‘नेपालको आन्तरिक समस्या समाधान गर्न नसकेर भारतलाई दोष लगाउनु र भारतले मधेशको आन्दोलनकै कारण नाकाबन्दी लगाउनु दुबै गलत छ।’
सरकारले बिषम परिस्थितीलाई मूल्याङ्कन गरी बजार नियन्त्रणमा सरकार विफल हुँदा कालो बजारियाको हालिमुहाली बढेको उनले बताए।
काँग्रेसको आसन्न १३ औं महाधिबेशनमा प्रमुख पदहरुमा पुरानै मुहार दोहोरिने अवस्था देखिएको र नयाँ पुस्ता पदाधिकारी आउने उनको टिप्पणी थियो।