अन्तालिया। चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टर्कीमा भेटवार्ता भएको छ।
जी २० को सम्मेलनमा सहभागिताका लागि त्यहाँ रहेका उनीहरूबीच उक्त भेटवार्ता भएको हो।भेटका क्रममा उनीहरूबीच यसअघि भएका प्रतिबद्धताहरूलाई थप बलियो बनाउनेबारेमा कुराकानी भएको बताइएको छ।
चिनियाँ राष्ट्रपति सीले रुसी राष्ट्रपति पुटिनसँग चीनले जी २० देशसँग समावेशी तथा अन्तरसम्बन्धित अथवा समन्वयात्मक अर्थतन्त्रको विकास गर्न चाहेको विषयमा कुराकानी गरेका थिए।
चीनले आगामी वर्षका लागि जी २० को अध्यक्षताको पालो पाएको छ। उक्त समयावधिसम्मका लागि चीनले रसियाको पनि सहयोग मागेको बताइएको छ।
टर्कीको दक्षिणपश्चिमी सहर अन्तालियामा जारी जी २० को सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो।भेटमा राष्ट्रपति सीले चीनले आयोजना गर्ने जी २० सम्मेलनका लागि आफ्नो देशले रसियासँग समन्वय र सञ्चारसम्बन्ध कायम गर्न चाहेको जानकारी गराएका थिए।
 सीको प्रस्तावलाई रुसी राष्ट्रपति पुटिनले समर्थन गरेको जनाइएको छ।यी दुई नेताबीच ब्रिक्स राष्ट्रका बीचमा आर्थिकलगायत क्षेत्रमा गरिने विकास र विस्तारका बारेमा पनि कुराकानी भएको बताइएको छ।
टर्कीमा जारी सम्मेलनमा विश्वका प्रमुख २० आर्थिक सम्पन्न राष्ट्रका नेता सहभागी छन्। अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि सम्मेलनका लागि आइतबारै टर्की आएका थिए। सिन्ह्वा