काठमाडौं: क्यासिनोमा जुवाडेलाई ‘मिटर ब्याज’ मा लगानी गर्ने भनेर चिनिने बलराम सापकोटा ‘बले’ ले मुलुकमै मँहगो सवारीधनी हुन तीन करोड ४० लाख रुपैयाँको ल्यान्डरोभर गाडी भदौमा अर्डर गरे।
उनका लागि झिकाइएको गाडी वीरगन्ज नाकाबाट प्रवेश गराउनुअघि तराईमा आन्दोलन सुरु भयो। गाडी सीमापारी अड्कियो । एकजना गाडी बिक्रेताका अनुसार गाडीको विलम्ब शुल्कमात्रै एक करोड पुग्न थालिसक्यो। ‘बलेको दाँजोको अर्को गाडी नहुने भयो,’ ती व्यवसायीले व्यंग्य गरे।
भ्याली समूहका सञ्चालक बाबुराजा रावलले तेस्रो मुलुकबाट आयातित सात कन्टेनर माल वीरगन्ज सुक्खा बन्दरगाहबाट भर्खरै निकाले । उनको माल ढुवानी गर्ने सिपिङ कम्पनीले ती सात कन्टेरनरको विलम्ब शुल्कवापत २५ लाख रुपैया“को बिल थमाएको छ।
उनको १६ कन्टेनर माल अझै सुक्खा बन्दरगाहमै छ। सिपिङ कम्पनीले कोलकाता बन्दरगाहबाट माल अफलोड गरेपछि उक्त माल नेपालमा भिœयाई खाली कन्टेनर कोलकातामा बुझाउन निश्चित समय दिएका हुन्छन्।
समयमा कन्टेनर पुर्‍याउन नसके विलम्ब शुल्क तिर्नुपर्छ। विलम्ब शुल्क तिर्ननपर्ने फ्रि टाइम सिपिङ कम्पनी र आयातकर्ताको नेगोसिएसन अनुसार फरक फरक हुन्छ।
थोरै फ्रि टाइम दिनेले १४ दिनको समय दिएका हुन्छन्। तीन/चार हप्ताको पनि फ्रि टाइम हुन्छन्। तर, सुरुमा मधेस आन्दोलन र लगत्तै नाकाबन्दी सुरु भएकाले कतिपय आयातकर्ताले दुई महिनामा पनि खाली कन्टेनर कोलकाता पुर्‍याउन सकेका छैनन।
(विलम्ब शुल्कमै जाने भयो अर्बौ रुपैयाँ)
‘हामी संकटको बेलामा विचार गरिदिन सिपिङ कम्पनीलाई गुहारिरहेका छौं’, रावलले भने।पशुपति ट्रान्सपोर्टमार्फत भित्र्याउन थालिएका चार सय ५० कन्टेनर सामान सिमापारी विभिन्न ठाउँमा अलपत्र छन्।
कतिपय आयातकर्ताको सामानका लागि तिरेको मोलभन्दा बढी विलम्ब शुल्क लागत पर्ने अवस्था छ।
तीमध्ये तीन सय ट्रक सामान त सामानधनीले अब जे गरेपनि हुन्छ, हामीलाई माल चाहिँदैन भनिसकेका छन्। कतिपय आयातकर्ताको सामानका लागि तिरेको मोलभन्दा बढी विलम्ब शुल्क लागत पर्ने अवस्था छ। कतिपयका सामान सडेका छन्।
सुक्खा बन्दरगाहमा थुप्रिएका रेडबुल लगायतका सामान सडेका छन्। आयातकर्ताले दसैं, तिहार, छठ पर्व लक्षित गरी सामान झिकाएका थिए । तर, सामान बीचमै अडकेकाले कतिपय व्यवसायी सडकमा आउने अवस्था बनेको छ।
फ्रोजन मिटको कारोबार गर्ने व्यवसायीले पछिल्लो २० करोड रुपैयाँ घाटा बेहोरोको चर्चा व्यवसायिक बृत्तमा छ। ‘दसैं र तिहारलाई लक्षित गरेर आएको तयारी मासु नाकाबन्दीले आउन सकेन।
उनको व्यवसायनै धरासायी हुने अवस्थामा आएको छ’, एक व्यवसायीले सुनाउदै भने। पछिल्लो समय फ्रोजन मासुका प्रयोगकर्ता बढ्दै गएपछि यसको व्यवसाय समेत बढेको छ।
नेपाल फ्रेडफर्वाड एसोसियनका अध्यक्ष राजन शर्मा कन्टेनरमा भएको सामानभन्दा पनि बढी बिलम्ब शुल्क तिनुपर्ने अवस्था आएको बताउँछन्। तैपनि यसबीच इन्टरमोडल यातायात विकास समितिको अनुरोध मान्दै वीरगन्ज सुक्खा बन्दरगाहको व्यवस्थापक हिमालयन टर्मिनल कम्पनीले ४० दिनसम्म बन्दरगाहमा थन्किएका सामान वापत भाडा नलिने सहुलियत दिएको छ।
कम्पनीले असोज ३ देखि कात्तिक १२ गतेसम्म बन्दरगाहमा थन्किएका सामानमा कुनै शुल्क नलिने घोषणा आइतबार गरेको छ। सुक्खा बन्दरगाहमा १ हजार ६ सयभन्दा बढी कन्टेनर सामान थुप्रिएको थियो।
मधेसी मोर्चाका स्थानीय नेतालाई मिलाएर करिब सात सय कन्टेनर सामान बन्दरगाहबाट निकालिएको थियो। आयातकर्ताले प्रति ट्रक तीन देखि पाँच हजार रुपैयाँ मोर्चाका एक प्रभावशाली नेतालाई दिएर रातको समयमा सामान ढुवानी गरिरहेका थिए। तर, मोर्चाभित्रै पैसा खाएको हल्ला चलेपछि तिनै नेताले ३ वटा ट्रक आगजनी गरेपछि फेरि ढुवानी रोकिएको छ।
भारतले रिरुट गरेर विरगन्जमा रोकिएका कन्टेनर भित्र्याउन अनुमति दिए पनि ढुवानी लागत ह्वात्तै बढेको छ। शर्माका अनुसार रिरुट गरेर पनि सहज रूपमा कन्टेनर आउन सकेनन् । यसले लागत र समय थप बढायो।’
कुन नाका सहज हुन्छ थाह नभएको भन्दै रिरुटले झन अन्योल बढाएको शर्मा बताउँछन्।’कुनै दिन विराटनगर खुकुलो हुन्छ कुनै दिन काँकडभित्ता कहाँबाट आयात गर्ने हो अन्योल छ’,शर्माले भने,‘ विलम्ब शुल्कमा कति रकम नेपालले तिर्नु परेको छ त्यसको मैले अब हिसाब समेत गर्न छाडी सके।’
भारतले लगाएको नाकाबन्दीले कन्टेनर नेपाल छिर्न नसक्दा तिनुपर्ने बिलम्ब शुल्कले गर्दा आयातित वस्तुको मूल्य दोब्बरभन्दा पनि बढी बढेको छ। दसैं र तिहारलाई लक्षित गरेर गरेर हुने आयात व्यापार पूर्णरूपमा ठप्प भयो।
 ‘सीमामा कतिपय कन्टेनरमा भएका सामान प्रयोग बिहीन हुने अवस्थामा पुगेका छन्’,फ्रेटवार्डका अध्यक्ष शर्माले भने। खासगरी औषधि उद्योग तथा दैनिक उपभोगका प्रयोजनका लागि भित्र्याइएका पदार्थ प्रयोग विहिन भएका हुन् । यसमा पेय तथा खाद्य पदार्थ बढी रहेको व्यवसायी बताउँछन्।
स्थगित हुँदै ठूला व्यवसायिक कार्यक्रम
घडीको विश्वविख्यात ब्रान्ड ओमेगाले नेपालमा गर्न लागेको उच्चस्तरीय व्यवसायीको जमघट स्थगित भयो।
‘सबैलाई निमन्त्रणा गरे पनि अन्तिम समयमा आएर कार्यक्रम रोकियो’,कार्यक्रमका आयोजकले भने, ‘ओमेगाका प्रमुख कार्यकारी अधिकृतलगायत उच्च अधिकारी नेपालमा आउने उच्च व्यवसायी घरानासँग डिनर सहितको आयोजना थियो जहाँ उनीहरूले उपहारमा मात्र ३० लाखजति खर्च गरेका थिए।
भारतले लगाएको नाकाबन्दीको कारण उत्पन्न भएको असहज परिस्थितिका कारण कार्यक्रम स्थगित भएको आयोजकले जनाएका छन्।