मेलम्ची । जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेपछि भूकम्पबाट अति प्रभावित परिवार मारमा परेका छन् । गत वैशाखमा गएको भूकम्पका कारण पूर्णरुपले घर क्षति भोगेका परिवार यतिखेर चिसोका कारण थप समस्यामा परेका हुन् ।

जिल्लाका उच्च हिमाली गाविस हेलम्बु, गुन्सा, भोताङ र सेलाङका भूकम्पपीडित चिसो बढ्दै गएकामा चिन्तित छन् । उनीहरू अहिले पनि पाल र टिनको छानाभित्र कोचिएर बस्न बाध्य छन् । चिसो बढ्दै गएका कारण बालबालिका र वृद्धवृद्धा थप समस्यामा परेका छन् ।

चिसोका कारण बजारमा आवतजावत घटेको छ भने विद्यालयमा पनि विद्यार्थीको चाप घटेको थाङ्पालकोट गाविसका सहायक सचिव कुमार बस्नेतले बताए ।

टिनको छानामा चिसोका कारण पानी चुहिने गरेको र त्यसबाट थप पीडा भोग्नुपरेको जिल्लावासीको गुनासो छ । सुत्केरी र बालबालिकालाई यसबाट थप समस्या हुने गरेको छ । चिसोको कारण निमोनियाजस्ता रोगबाट ग्रसित हुनुपर्ने अवस्था सिर्जना हुनसक्ने मेलम्ची नगर विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

टिनको छाप्रोमा चिसोका कारण शीत पर्ने र पानी चुहिने हुनाले अब कसरी चिसो महिना कटाउने भन्ने समस्याले आफूहरू पिरोल्न थालेको मेलम्ची नगरपालिका–१२ का भूकम्पपीडित पोषप्रसाद दाहालले बताए । रासस