काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मुलुकमा जारी ऊर्जा सङ्कटलाई कम गर्ने उद्देश्यले भारतसँग थप ९० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ ।

मुलुकमा हिउँद र सुक्खायाममा लोडसेडिङ बढ्न नदिन भारतबाट आगामी पुस तेस्रो सातादेखि थप ९० मेगावाट बिजुली आयात गर्ने भएको छ।

दुवै देशका पावर ट्रान्समिसन कम्पनीले निर्माण गरिरहेको नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको र आगामी जनवरीसम्ममा सम्पन्न भई विद्युत् प्राधिकरणले त्यसैबाट थप बिजुली आयात गर्ने तयारी भएको जानकारी ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले दिए।

नेपाल र भारतले संयुक्त रूपमा निर्माण गरिरहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको काम तराई–मधेसको आन्दोलन र स्थानीय अवरोधका कारण केही समय अवरुद्ध भए पनि पछिल्लो दिनमा काम सुचारु छ। यसबीचमा कुनै अवरोध नआए प्रसारण लाइन निर्माणकार्य आगामी पुस १५ सम्ममा करिब–करिब सम्पन्न हुने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए।

हिउँदमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ हुने प्राधिकरणको आँकलन थियो। भारतबाट थप बिजुली आयात भएपछि मुलुकमा लोडसेडिङ दैनिक १० घण्टाभन्दा बढ्ने छैन। नेपालले भारतबाट व्यापारिक मूल्यमा बिजुली आयात गरिरहेको छ। व्यापारिक मूल्यमा किन्दा प्रतियुनिट करिब ९ रुपैयाँ पर्ने गरेको छ।