काठमाडौँ। यो महिनामा सुनको भाउ २८ सय रुपैयाँले घटेको छ । गएको महिनाको अन्त्यमा तोलाको ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन त्यस यता क्रमशः घट्दै आइतकार ४८ हजार ७ सय रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबारमा आएको गिरावटसँगै भाउ पनि घटेकाले नेपाली बजारमा पनि सुनको भाउ घट्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।  उहाँका अनुसार आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँंस १ हजार ८५ डलर छ ।

शुक्रबार कायम भएको भाउ भन्दा ४ सय रुपैयाँले घटेर सुन तोलामा ४८ हजार ७ सय छ । शुक्रबार तोलामा ४९ हजार १ सय रुपैयाँ थियो । यो महिना लागेपछि सुनको भाउ लगातार ओरालो लागेको महासंघले जनाएको छ ।

अमेरिकी अर्थतन्त्रमा आएको उल्लेखनीय सुधारसँगै डलर मजबुत भएकाले सुनको माग कम हुँदा भाउ घट्दै गएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्ले बताउनुभयो ।