नेपालगन्ज।  नेपालगन्ज–रुपेडिया नाकाबाट इन्धन भित्रिन थालेको छ ।  १० दिनदेखि रोकिएका इन्धन ट्यांकर शुक्रबार रातिबाट भित्रिन थालेका इलाका प्रहरी कार्यालयले जनाएको छ ।वीरगन्जमा भारतिय नागरिक मारिएपछि नेपालगन्ज नाकाबाटसमेत इन्धन ट्यांकर भित्रिएका थिएनन् ।
शुक्रबार राति ६ वटा डिजल ट्यांकर भित्रिएका थिए भने शनिबार थप १० वटा र ५ वटा हवाइ इन्धन, २ वटा ग्यासका बुलेट र १ पेट्रोलसहित ४२ मालवाहक गाडी भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी सहायक निरीक्षक हरिबहादुर गुरुङले जानकारी दिए ।
प्रहरीका अनुसार अझै ३० वटा इन्धन गाडीसहित १ सय बढी मालवाहक गाडीहरु रुपेडियामा खडा भएका छन् । अन्य नाकाभन्दा सहज रहेको नेपालगन्ज नाका अघिल्लो मंगलबार कात्तिक १७ गतेबाट एकाएक ठप्प पारिएको थियो ।