एजेन्सी। एक वर्षअघि नेपालमा भ्रमणमा आउँदा बुद्धको भूमिमा टेक्न पाउँदा आफू गौरबवान्वित भएको बताउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत पुगेर भारत बुद्भको भूमि भएको झुटो प्रचार गरेका छन्।

नेपालमा नाकाबन्दी गरिरहेको अवस्थामा मोदीले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँगको संयुक्त पत्रकार सम्मेलनमा भारत बुद्धको भूमि भएको दाबी गरेका हुन् । उनको यो विवादास्पद अभिव्यक्तिको बेलायतमा पनि विरोध भएको छ भने सामाजिक सञ्जालमा कडा निन्दा गरिएको छ।

नाकाबन्दी गरेपछि नेपालीको नजरमा बदनाम बनेका मोदीले बेलायतमा भने, ‘भारत गान्धीको भूमि हो, बुद्धको भूमि हो।’बेलायती सञ्चारमाध्यमका पत्रकारले भारतमा बढिरहेको धार्मिक असहिष्णुताबारे सोधेको प्रश्नको उत्तर दिने क्रममा मोदीले भारतलार्इ बुद्धको भूमि भनेका हुन् ।
‘भारत बुद्ध र गान्धीको भूमि हो । हाम्रो संस्कृति समाजको मूल्यमान्यता विरुद्ध कुनैपनि कुरा भारतले स्वीकार गर्दैन्’, मोदीले भने’ ‘भारतको कुनै कुनामा भएको घटना हाम्रो लागि गम्भीर महत्वको विषय हुन्छ ।’
मोदीलाई दिल्लीमा गार्इको मासु घरमा राखेको आरोपमा एक मुस्लिम युवालार्इ कुटेर मारेको दादरी हत्याकाण्डबारे पत्रकारहरुले प्रश्न गरेका थिए । बेलायती पत्रकारहरुले उनको गृहनगर गुजरातमा भएको दंगाबारे पनि प्रश्न सोधेर अफ्ठेरोमा पारिदिएका थिए ।
मोदीलाई सोधिएको अर्को प्रश्नमा उनले आफूलाई बेलायतले भ्रमणमा प्रतिबन्ध नलगाएको जिकिर गरे । आफूबाट गल्ती भएको हुनसक्ने भन्दै बेलायतमा आफूविरुद्ध भएको स्वभाविक भएको उनको भनाइ थियो ।
मोदी मुख्यमन्त्री हुँदा गुजरातमा एक हजार मुस्लिमको ज्यान जानेगरी भएको दंगाको दोषी उनैलाई ठानिएको छ । त्यही घटनाका कारण उनी बेलायत र अमेरिकाको भ्रमणमा जान प्रतिबन्धित थिए ।
मोदी बेलायत आउने भएपछि त्यहाँस्थित सयौं लेखकहरुले प्रधानमन्त्री क्यामरुनसँग भारतमा बढिरहेको धार्मिक असहिष्णुताबारेमा प्रश्न उठाउन आग्रह गरेका थिए ।
मोदी बेलायत पुगेपछि उनको विरोधमा भारतीय तथा नेपाली नागरिकहरुले प्रदर्शन गरेका छन् ।  नेपालीहरुले नाकाबन्दीको विरोधमा प्रदर्शन गरे भने भारतीय शिख समुदायले धार्मिक असहिष्णुताको विरोधमा प्रदर्शन गरे ।