लण्डन, एजेन्सी। भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीविरुद्ध बेलायतमा बस्ने नेपालीले प्रदर्शन गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीले प्रदर्शन गरेका हुन् । बेलायती संसद भवन अगाडि भएको प्रदर्शनमा सयौं नेपाली सहभागी भए ।

अत्यन्तैकडा सुरक्षा व्यवस्थाबीच पनि भारतीय नाकाबन्दीको विरोधमा नेपालीहरु सडकमा उत्रिएर प्रदर्शन गरेको गैर आवासीय नेपाली संघ युरोपका संयोजक कुल आचार्यले बताए ।

प्रदर्शनले भारतीय नाकाबन्दी अन्तर्राष्ट्रियकरण गर्न सघाएको प्रदर्शनका सहभागीहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदी तीन दिने बेलायत भ्रमण क्रममा हाल लण्डनमा छन् ।

यसअघि भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले पनि भारतले नेपालमाथि लगाईरहेको नाकाबन्दी खुलाउन पहल गरिदिन आग्रह गर्दै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई पत्र लेखेका थिए ।

ब्रिटिश गोरखा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले भारतको नाकाबन्दी गैरकानूनी र बदनियतपूर्ण रहेको उल्लेख गर्दै भारतले नेपालको तराईलाई देशको बाँकी भू–भागबाट अलग गराउन खोजिरहेको उल्लेख गरेको छ ।