काठमाडौं। यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गर्छन् । दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिइन्छ ।

भाइटीकाको साइत मध्याह्न ११:५५ मा उत्तम छ । टीका लगाइदिने दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ ।

त्यसअघि बारबेलाअनुसार कालबेला परेकाले कालबेला कटाएर शुभबेलाको साइत निकाल्दा साइत ढिला भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने शास्त्रीय मान्यता समेत  छ । भाइटीकाको दिन मात्र खुल्ने काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएकाले बाहिरैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।