काठमाडौं। अमेरिकाका राष्ट्रपति बाराक ओबामाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । सो बधाई सन्देश नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् ।

सन्देशमा राष्ट्रपति ओबामाले अमेरिकी जनताले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट उठ्न लागेको र प्रजातान्त्रिक संस्थाहरुलाई सुदृढ गर्न लागेको नेपालसँग काँधमा काँध मिलाएर हिँड्ने विश्वास दिलाउनुभएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन्देशमा भनिएको छ –“संयुक्त राज्य अमेरिका नेपालको दीर्घकालीन आर्थिक वृद्धि प्रयासका रुपमा शताब्दी चुनौती संस्था (मिलेनियम च्यालेन्ज कर्पोरेसन)लाई नेपाल सरकारसँग मिलेर निरन्तरता दिन चाहन्छ ।” उनले दुई देशबीचको ७० वर्ष लामो साझेदारीको स्मरण गर्दै नेपालमा एकता, समृद्धि र पूर्ववत् अवस्थामा फर्कने कामका लागि बढावा दिन मिलेर काम गर्न अमेरिका तयार रहेको पनि स्पष्ट गरे । रासस