पर्वत। नेपाल र चीनबीच व्यापारिक हिसाबले महत्वपूर्ण मानिएको मुस्ताङको कोरला नाका सञ्चालन गर्ने बारेमा मुस्ताङका प्रशासक र तिब्बतको ढोङ्वासेनका अधिकारीबीच सोमबार मुस्ताङको लोमान्थाङमा छलफल भएको छ ।

वार्तामा तिब्बती पक्षबाट नेपालतर्फको सुरक्षालगायतका सबै पूर्वाधार पूरा गरेमा आफूहरु नाका खोली द्विपक्षीय व्यापार गर्न तयारी अवस्थामा रहेको जानकारी नेपाली टोलीलाई दिएका छन् ।

यसका लागि नेपालका तर्फबाट प्रक्रिया अगाडि बढाउन ढिलाइ नगर्न आग्रह गरेको नेपाली वार्ता टोलीका नेतृत्व गर्नु भएका मुस्ताङका प्रजिअ गणेशबहादुर अधिकारीले जानकारी दिए ।

चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाकाको भौतिक अवस्था सडक र पूर्वाधार बारे अध्ययन गर्न उपल्लो मुस्ताङ पुगेको प्रजिअको टोलीले चिनियाँ पक्षसँग भेटवार्ता गरेको थियो । नेपाल र चीनका बीचमा कोरल्ला नाका खोल्ने सहमति भएकाले अब पूर्वधारको विकास गरिने प्रजिअ अधिकारीले बताए ।

यसैगरी नेपाली टोलीले कोरला नाकाका बारेमा सडक र पूर्वाधारको अध्ययन गरेर फर्किएको छ । टोलीले जोमसोमदेखि कागबेनी, छुसाङ, चैले, झैते, घमी, चराङ, लोमान्थाङ, छोसेर र छोन्हुपदेखि कोरल्लासम्मको सडकको अवस्था अवलोकन गरेको थियो ।

सीमा क्षेत्रमा पर्याप्त जग्गा भएकाले भन्सार तथा गोदाम, अध्यागमन, क्वारेन्टाइन, सीमा सुरक्षा, बैंकलगायतका पूर्वाधार निर्माणको तयारीमा लाग्नुपर्ने प्रजिअ अधिकारीको भनाइ छ ।

उच्च हिमाली क्षेत्र भएकाले त्यस क्षेत्रमा बढी चिसो हुने हुँदा विद्युत्लगायतका इनर्जीको उचित व्यवस्थापन गर्नुपर्छ । साथै नेपाली सेनाको पोस्ट उक्त क्षेत्रमा राख्ने योजना भएकाले पोस्टका लागि जग्गा पनि हेरिएको भीमदल गणका प्रमुख सेनानी अर्जुन बस्नेतले बताए।

तिहारलगत्तै नाकाको पूर्वाधारका लागि जग्गा प्राप्ति गर्न नापी टोलीलाई त्यसतर्फ पठाउने र नेपालतर्फको आन्तरिक पूर्वाधार निर्माण गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायसँग समन्वय गरी छिटोभन्दा छिटो काम अगाडि बढाउने योजनामा रहेको प्रजिअ अधिकारीको भनाइ छ ।