काठमाडौ । हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु विधिवत रुपमा शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहार अन्तर्गत सोमबार पहिलो दिन काग तिहार मनाउन लागिएको हो ।

उज्यालो पर्वका रुपमा मनाइने तिहारको पहिलो दिन सोमबार काग तिहार मनाइदैछ ।कागलाई दैत्यराज यमराजको दूतको रुपमा पूजा गरी विभिन्न खानेकुरा खान दिने गरिन्छ । शुभ–अशुभ दुबै सन्देश बाहकको रुपमा कागलाई लिने गरिन्छ ।

कागको पूजा नगरी खाना खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक विश्वास छ । यमपन्चकको दोस्रो दिन मंगलबार कुकुर तिहार परेको छ। तेस्रो दिन विहान गाई तिहार र बेलुका धनकी देवी लक्ष्मीको पूजा गरिन्छ ।

यसैगरी २६ गते गोवर्धन पूजा र म्हपूजा तथा २७ गते भाइ टीका परेको छ । यसैबीच, नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहारको भाई टिकाको शुभ साइत मध्याह्न ११ बजेर ५५ मिनेटमा रहेको बताएको छ ।