काठमाडौँ। नेपाल–भारत नाकामा जारी अवरोधका कारण गत सोमबारदेखि कुनै पनि इन्धन आयात हुन सकेको छैन ।

मधेसमा जारी आन्दोलन र भारतले पारवहनमा गरेको अवरोधका कारण अत्यावश्यकभन्दा बाहेकका आलु, टमाटर बोकेका सवारीसाधन मात्र अत्यन्त न्यून सङ्ख्यामा नेपाल प्रवेश गरेका छन् ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय नाकाबाट सामान्य अवस्थामा पेट्रोलियम ट्यांकर र ग्यास बुलेटसहित दुई हजार सवारी भित्रिने गरेको थियो । आन्दोलनसँगै त्यो सङ्ख्या क्रमशः घट्दै गई गत बुधबार १५०सवारीसाधन भित्रिएका थिए । त्यसमा पनि पेट्रोलियम पदार्थ तथा ग्यास बोकेका गाडी थिएनन् । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानाले आज ४० देखि ५० गाडी मात्र भित्रिएको जानकारी दिनुभयो ।

पछिल्ला केही दिनमा कुल आयातको १० प्रतिशत मात्र इन्धन आयात भएकामा सोमबारदेखि त्यो पनि ठप्प भएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताउनुभयो । उहाँले रासससँग कुरा गर्दै भन्नुभयो, “सोमबारदेखि कुनै पनि इन्धन बोकेका ट्याङ्कर तथा बुलेट भित्रिएका छैनन्, अवस्था झनै चिन्ताजनक बन्दै गएको छ ।”

सामान्य अवस्थामा छ नाकाबाट दैनिक सरदर ६६ बुलेट ग्यास आयात हुने गरेको थियो । एउटा बुलेटमा एक हजार २५० सिलिन्डर हुन्छन् । दसैँ र जाडोको मौसममा त्यसको माग ३० प्रतिशतले वृद्धि हुन्छ । यस आधारमा हेर्दा हाल झन्डै २७ लाख सिलिन्डर चाहिन्छ । रक्सौल नाकाबाट ७० प्रतिशत ग्यास भित्रिने गरेकामा हाल नाका ठप्प भएपछि काठमाडौँ उपत्यकालगायत जिल्लामा खाना पकाउने ग्यासदेखि पेट्रोलियम पदार्थको चर्को सङ्कट पैदा भएको छ ।

पछिल्लो समयमा देखिएको पारवहन असहजताका कारण आयात तथा व्यवस्थापनमा थप चुनौती बन्दै गएको वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक रुपबाट नै समस्याको समाधान खोजिनुपर्छ, त्यसो हुन नसके थप सङ्कट पैदा हुन्छ ।”

घिमिरेले पेट्रोलियम पदार्थको विकल्पका रुपमा चीन तथा अन्य मुलुकबाट हवाई मार्गबाट ल्याउने सकिए पनि ग्यासका सन्दर्भमा भारतको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म निगमले ग्यास आयातको अर्को विकल्प पहिल्याउन सकेको छैन ।”

जोगबनीमा थप कडाइ
विराटनगरको जोगबनी नाकामा भारतीय पक्षले शुक्रबार बिहानैदेखि कडाइ गर्न थालेको छ। विहार राज्यको विधानसभाको निर्वाचनलाई लक्षित गरेर नाका सिल गरेका कारण दुई दिनसम्म आयातनिर्यात ठप्प छ ।
निर्वाचन सकिएलगत्तै भारतीय पक्षले बिहीबार साँझ ७ बजे सिल खुला गरी आयातनिर्यात सञ्चालनको जनाउ दिए पनि कडाइ जारी राखेको हो।
सीमा क्षेत्रमा ठूलो संख्यामा परिचालित भारतीय सुरक्षाकर्मीले आयात जावतमा कडाइ गरिरहेको नेपाल प्रहरीले जनाएको छ।
सिल खुला गरेलगत्तै बिहीबार रातिसम्ममा २४ वटा मालवाहक सवारीसाधन पठाएको भारतीय पक्षले शुक्रबार बिहानैदेखि कडाइ जारी राखेपछि दिउँसो १:१५ बजेसम्म नौवटा मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन्। भारतीय पक्षले इन्धन भने पठाएको छैन।
पानीट्यांकीमा रोकिए ३८ गाडी इन्धन
पूर्वी नाका काँकडभिट्टापारि भारतीय सीमावर्ती पानीट्यांकी बजारमा ३८ वटा इन्धन बोकेका सवारी अड्किएर बसेका मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीम अधिकारीले जानकारी दिए।
उनले तीन दिनदेखि एउटा पनि पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन नेपाल आउन नपाएको जानकारी दिए। शुक्रबार सीमामा भारतीय पक्षले कडाइ गरेको उनले जनाए।
बिहीबार ५० वटा मालवाहक सवारीसाधन नेपाल भित्रिएकोमा शुक्रबार यो संख्या ३५ मा झरेको छ। पानीट्यांकी भन्सारमा आठ सयभन्दा बढी मालवाहक सवारीसाधन नेपाल छिर्न प्रतीक्षारत छन्।
सुनौली नाका अझै खुलेन
सुनौली नाकाबाट विगत पाँच दिनदेखि एक ट्यांकर इन्धन तथा ग्यासका बुलेट र कन्टेनर छिरेका छैनन्। नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलबारीका प्रमुख दिनेशकुमार यादवका अनुसार नाकामा डिजेलका ५५ वटा, पेट्रोलका ११ वटा ट्यांकर रोकिएका छन्।
यसैगरी बैतालपुर डिपोमा २२ वटा ट्यांकर लोड नपाएर थन्किएका छन्।
रक्सोलबाट रुट परिवतन गरी आएका ४४ वटा ग्यासका बुलेट पनि नाकामा अलपत्र छन्। भन्सार जाँचपास गरिसकेका ट्यांकर तथा ग्यासका बुलेटलाई पनि भारतीय प्रहरी तथा सीमा सुरक्षा बलले नेपाल प्रवेश गर्न नदिएको यादवले गुनासो गर ।