काठमाडौं। भारतीय नाकाबन्दीका कारण प्रमुख व्यापारिक नाकाबाट आज पनि आयात सहज हुन सकेको छैन । भारतबाट केही सामान भित्रिएको भए पनि इन्धन आयात ठप्प नै छ ।

खासगरी वीरगञ्ज गोली काण्डपछि नाकामा भारतीय पक्ष कठोर बनेको छ । आन्दोलनरत मधेशी मोर्चाको नाकामा अवरोध नभएपनि एसएसबीले नेपाल प्रवेश गर्न लागेका ट्ंयाकर र मालवाहक सवारीलाई रोकेर राखेको छ ।

धनगढी–गौरीफन्टा नाकाबाट एउटा हवाइ इन्धनको ट्यांकर र एक ट्यांकर डिजेल तथा कांकडभिट्टा नाकाबाट एउटा ग्यासको बुलेटबाहेक अन्य कुनै पनि नाकाबाट पेट्रोलियमपदार्थ बोकेका गाडी नेपाल भित्रिएका छैनन् ।

धनगढी–गौरीफन्टा नाकाबाट चारवटा इन्धनका गाडी आउने बताइए पनि दुईवटा गाडीलाई भने भारतीय पक्षले उतै रोकेको बताइएको छ ।

झापाको कांकडभिट्टा नाकाबाट एक बुलेट ग्याससहित ११३ वटा मालबाहक गाडी गएरातिसम्ममा नेपाल भित्रिएका छन् ।

नेपालगञ्ज–रुपैडिहा नाकाबाट जम्मा १९ वटा मालबाहक गाडी मात्रै नेपाल आएका छन् । रुपैडिहा नाकामा सयौं गाडी रोकिएर बसेको भए पनि भारतीय पक्षले नेपाल प्रवेश गर्न दिएको छैन ।

भैरहवा–सुनौली नाकाबाट पनि ३२ वटा मालबाहक गाडी भित्रिए पनि पेट्रोलियम पदार्थ भने भित्रिएको छैन ।

उता, बिराटनगर–जोगबनी नाका आज विहानबाट खुल्ला भए पनि सवारी नेपाल आएका छैनन् । भारत बिहारको निर्वाचनको बहानामा सोमबारदेखि यो नाका बन्द गरिएको थियो ।