नुवाकोट।  भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भइरहेका बेला चीनले अनुदानमा दिएको थप २४ ट्यांकर पेट्रोल केरुङबाट नेपाल भित्रँदैछ ।

पेट्रोल बोकेका ती ट्यांकरहरु बिहीबार रसुवागढी नाकाबाट नुवाकोट हुँदै काठमाडौं पुग्ने नेपाल आयल निगमले जनाएको छ ।

गत शनिवारदेखि तीन दिनको अवधिमा केरुङवाट एकसय मेट्रिक टन पेट्रोल नेपाल प्रवेश गरि काठमाडौको थानकोट भण्डारणस्थलमा राखिएको छ ।

सो पेट्रोल विहीवारदेखि निजी कार र मोटरसाइकललाई वितरण सुरु गरिने आयल निगमका प्रवक्ता दीपक बरालले जानाकरी दिए । उनका अनुसार बुधबार केरुङबाट चारवटा पेट्रोल बोकेका नेपाली ट्यांकर नेपाल आइसकेका छन् ।

थप २० वटाले पनि तिव्वतको केरुङ पुगेर पेट्रोल लोड गरिरहेका छन् । चीनसँग रसुवागढी नाकाबाट इन्धन आपुर्ती गर्ने समझदारी भएपछि केरुङबाट रसुवागढी नाका हुँदै यसअघि नै १५ ट्यांकरमा एकसय मेट्रिक टन पेट्रोल नेपाल भित्रिसकेको छ ।

चीनले अनुदानमा दिएको एकहजार मेट्रिक टन पेट्रोल अर्को सातासम्म नेपाल ल्याइसकिने जनाइएको छ ।

चीनले नेपाललाई अनुदान दिएको एकहजार मेट्रिक टन पेट्रोल मध्ये तिव्वतको केरुङवाट रसुवागढी नाकाबाट पहिलो खेपमा पेट्रोल बोकेका १५ ट्यांकरलाई रसुवागढीदेखि वेत्रावतिसम्म रसुवा तथा वेत्रावतिदेखि दुई पीपलसम्म नुवाकोट प्रहरीले स्कर्टिङ गरेर पृथ्वी राजमार्गको गल्छी पुर्‍याएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

नेपाल आयल निगमले रसुवागढी भन्सार कार्यालयलाई एकहजार मेट्रिक टन पेट्रोलको भन्सार राजश्व तीन करोड ४७ लाख तिरिसकेको छ ।

नेपाल र चीनबीच गत बुधबार बेइजिङमा तेल सम्बम्धी औपचारिक समझदारी  भएपछि १५ थान नेपाली ट्यांकरहरु नुवाकोट हुदै रसुवागढी पुगेर शनिवारदेखि लगातार चीनको केरुङ प्रवेश गरि पेट्रोल भरेर ल्याउन थालेका हुन् ।

अब पेट्रो चाइनासँग इन्धन खरिदको लागि व्यापारिक सम्झौता नै गरिने आयल निगमका प्रवक्ता दीपक बरालले बताए ।

चीनवाट ल्याइएको पेट्रोल नेपालमा गुड्ने मोटरसाइकल तथा गाडीका लागि गुणस्तरिय रहेको उनले बताए । चीनबाट युरो फोर पेट्रोल भित्राइएको आयल निगमले जनाएको छ  ।

चीनले अनुदानस्वरुप उपलब्ध गराएको १ हजार मेट्रिक टन अर्थात १३ लाख लिटर पेट्रोल एक सातादेखि १० दिनभित्रमा काठमाडौं पुर्‍याउने लक्ष्य रहेको निगमका प्रवक्ता बरालले प्रतिवद्धता जनाए ।