गौशाला। महोत्तरी जिल्लाको गौशाला चोकमा आज बिहान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ८५ लिटर पेट्रोल नियन्त्रणमा लिएका छन् ।

अनिश्चितकालीन मधेस बन्द चलिरहेका बेला आज बिहान महोत्तरीको सम्सी नाका हुँदै भारतबाट तस्करी गरी ल्याइएको पेट्रोल मोर्चाका कार्यकर्ताले गौशाला नगरपालिका– ६ स्थितचोकमा नियन्त्रणमा लिएका हुन् ।

मोर्चाले नियन्त्रणमा लिएको पेट्रोल भुइँमा खन्याएर आगजनी गरी नष्ट गरेका छन् भने पेट्रोल ल्याउने व्यक्तिलाई चेतावनी दिँदै गाडीसहित उनलाई मुक्त गरेका छन् ।

मोर्चाका कार्यकर्ताले सोही नाकाबाट दुई दिनअघि पेट्रोल बोकी आएका एक भारतीय र चार दिनअघि एक नेपाली नम्बरको मोटरसाइकल र करिब ४०० लिटर पेट्रोल सोनमा बजारमा आगजनी गरी नष्ट गरेका थिए । (रासस)