वीरगञ्ज।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्ज नाका फेरि ठप्प पारेका छन् । आज बिहान वीरगन्ज नाकामा धर्नामा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो भने सो लगत्तै सीमानाका सञ्चालनमा आएको थियो । तर, मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गर्दै फेरि नाका कब्जामा लिएर धर्ना सुरु गरेका छन् ।

सीमानाकाको मितेरी पुलमा पहिलेको जस्तै अहिले फेरि धर्ना सुरु भएपछि सीमानाका पहिलेको जस्तै ठप्प छ । यसअघि बिहान प्रहरीले आन्दोलनकारीलाई हटाएपछि प्रदर्शनकारीहरुले वीरगञ्जका प्रर्दशन समेत गरेका थिए ।

नाका खुलाएलगत्तै वीरगञ्जमा रोकिएका भारतीय गाडीहरु रक्सौल प्रवेश गरेका थिए । भारतीय सवारी रक्सौल पुगुन्जेल भारतीय सुरक्षाकर्मीले पारि पुगेका आन्दोलनकारीलाई दशगजा क्षेत्रमा आउन दिएको थिएन । तर, करिब २ सय भारतीय गाडी रक्सौल प्रवेश गरेपछि भने आन्दोलनकारीलाई भारतीय सुरक्षाकर्मीले दशगजा क्षेत्रमा प्रवेश दिएका थिए ।