काठमाडौं। सरकार र मधेसी मोर्चाबीच आज (आइतबार) निर्णायक वार्ता हुने भएको छ । मधेस आन्दोलन शुरु भएको ७९ औं दिन सरकार र मोर्चाबीच आज तेस्रो चरणको औपचारिक वार्ता हुने भएको हो ।

तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय विजुलीबजारमा अपराह्न ४ बजे हुने वार्तालाई आशा र निराश दुवै कोणबाट हेरिएको छ।

आजको वार्ता सकारात्मक नभए मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाएर लैजाने घोषणा गरिसकेको छ ।

यसअघि भएको वार्तामा मोर्चाले अघि सारेका केही माग पूरा गर्ने सरकारले प्रतिबद्धता जनाए पनि संघीयताको सिमांकनका विषयमा भने विवाद हुँदै आएको थियो ।

मधेसी मोर्चाले वार्तालाई परिणाम मुखी बनाउन सिमांकनको विषयलाई अहिले नै टुंग्याएर जानुपर्ने बताउँदै आएको छ ।

तर सरकारले आयोगमार्फत् सिमांकनको टुंगो लगाउन सकिने जनाएको छ ।